Shittalpati
पाल्पामा रजोनिवृत्ति सचेतना कार्यक्रम

पाल्पा, महिलाको स्वास्थ्य र जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्ने मेनोपज (रजोनिवृत्ति) बारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तानसेनमा मेनोपज सचेतना कार्यक्रम गरिएको छ । एनआइआरआइ, फोकस फाउन्डेसन, लायन्स क्लब अफ पाल्पा प्राइडको संयुक्त आयोजनामा पाल्पामा पहिलोपटक मेनोपजजस्तो महत्वपूर्ण तर कमै चर्चा हुने विषयमा खुलेर छलफल गरिएको हो ।

कार्यक्रममा ४२ जना महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा प्रोजेक्ट निर्देशक नम्रता ढुंगाना, बेल्जियमबाट आएकी मेनोपज परामर्शदाता एन्जेला रामिरेज एस्क्बार र लायन्स क्लब अफ पाल्पा प्राइडकी अध्यक्ष कला दाहालले सहजीकरण गरेका थिए । कार्यक्रममा मेनोपजका क्रममा महिलाहरूले अनुभव गर्ने शारीरिक तथा मानसिक परिवर्तन, त्यसबाट उत्पन्न हुने चुनौती र स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी तथा छलफल गरिएको थियो । सहभागी महिलाहरूले आफ्ना व्यक्तिगत अनुभव, जिज्ञासा र समस्याहरू खुलेर राखेका थिए । मेनोपजका कारण देखिने विभिन्न स्वास्थ्य समस्याबारे जानकारी नहुँदा कहाँ जाने, कसरी समाधान खोज्ने र कसको परामर्श लिने भन्ने अन्योलमा रहेका महिलाहरूका लागि कार्यक्रम उपयोगी बनेको सहभागीहरूले बताएका थिए ।

आफ्ना अनुभव र समस्या निर्धक्कसँग राख्न सक्ने सहज, आत्मीय र विश्वासपूर्ण वातावरण कार्यक्रमको महत्वपूर्ण पक्ष बनेको थियो । कार्यक्रममा सहजीकरण गरेकी बेल्जियम निवासी एन्जेला रामिरेज एस्क्बारले नेपालमा यस किसिमको सचेतनामूलक कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै यसलाई सुरुवातका रूपमा लिएको बताइन् । उनले आगामी दिनमा पनि महिलाको स्वास्थ्य र मेनोपजसम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिँदै अझ व्यापक रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । महिलाको जीवनमा आउने प्राकृतिक चरणका रूपमा रहेको मेनोपजलाई सहज रूपमा बुझ्ने, यसबारे समाजमा खुलेर संवाद गर्ने र आवश्यक स्वास्थ्य परामर्श लिन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update