Shittalpati
रामपुरमा अव्यवस्थित पार्किङ गर्नेलाई कारवाही गर्न नगर प्रमुख थापाको निर्देशन

पाल्पा, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अव्यवस्थित पार्किङ गरेका सवारीसाधनलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

बसपार्कमा पार्किङ नगरी नगरको मुख्य बजार बेझाँड बजार क्षेत्रमा अव्यवस्थित रुपमा पार्किङ गर्ने सवारीसाधनलाई ट्राफिक नियम अनुसार तत्काल कारवाही गर्न निर्देशन दिएका हुन् । नगर प्रमुख थापाले अव्यवस्थित पार्किङले बजार क्षेत्रका सडक साँघुरो हुने र सडक दुर्घटना समेत हुन सक्ने भएकाले पार्किङलाई व्यवस्थित गर्न खोजिएको बताए । उनले नगरपालिकाले तोकेको स्थानमा बाहेक अन्यत्र स्थानमा यात्रु ओराल्ने समय बाहेक अन्य समयमा सवारी साधन पार्किङ गरे सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गर्ने बताए । यातायात व्यवसायी , विद्यार्थी , प्रहरी र सरोकारवाला बिच भएको अन्तक्र्रिया कार्यक्रममा नगर प्रमुख थापाले यस्तो बताएका हुन् । उनले सबै यातायात व्यवसायी र विद्यार्थी बिच आपसी समजदारी मार्फत माग र समस्याको समाधान गर्नुपर्ने बताए ।

नगरपालिकामा भएको कार्यक्रममा सार्वजनिक सवारीसाधन प्रयोग गर्दा विद्यार्थीले पाउने भाडा सहुलियतका विषयमा छलफल भएको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सरकारले व्यवस्था गरेको छुट विद्यार्थीले पाउनु पर्ने बताए । कार्यक्रममा नेपाल बिद्यार्थी संघ शहिद बहुमुखी क्याम्पस रामपुरका ईकाइ सभापति ल्याकत अलिले रामपुरमा यातायात व्यवसायीले अनियमितता गरेको भन्दै नेपाल सरकारले दिएको सुविधा अनुसार भाडा छुट पाउनु पर्ने माग गरे । नमस्ते रामपुर यातायात प्रा.लि. का सञ्चालक भोजराज भट्टराईले बिद्यार्थीको भाडा छुटका विषयमा सुस्म अध्ययन गरि निर्णय हुने र यातायात व्यवसायीले अनियमितता गरे कारवाही गर्ने बताए । छलफल पश्चात विभिन्न निर्णय समेत गरेको छ । बैठकले बिद्यार्थीको भाडा सहुलियत सम्बन्धमा आगामी कार्तिक २१ गते बृहत छलफल गर्ने, विद्यालय क्षेत्रका बजारमा विद्यालय समयमा विद्यार्थीको भिडभाड हुने र दुर्घटना हुन सक्ने भएकाले बिहान ९.३० बजे देखि १० बजे सम्म र साँझ ४ बजे देखि ४.३० बजे सम्म ठुला सवारीसाधन प्रवेश निषेध गर्ने , पार्किङ व्यवस्थित गर्न तोकिएको स्थानमा मात्रै पार्किङ गर्ने र बस पार्कबाट टिकट काटेर गाडी छुट्ने व्यवस्था गराउने निर्णय गरेको छ । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता योजना शाखा प्रमुख बिक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update