Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही,सुनसरी, नुवाकोट, कास्की, तनहुँ र जुम्लामा भएका दुर्घटनामा छ जनाको ज्यान गएको हो ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–२ स्थित आँखा अस्पताल अगाडिको सडकमा विद्युतीय सवारी (ईभी) ले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । लु.३० प ७५५९ नम्बरको मोटरसाइकललाई लु.प्र–०१–००१ ज ००९२ नम्बरको ईभीले ठक्कर दिँदा मोटरसाइकलमा सवार बुटवल–६ पुरानो बसपार्ककी ३० वर्षीया बिनिता जैसवालको मृत्यु भएको हो । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसहित दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल र अर्का एक जनाको बुटवल अस्पताल प्रालिमा उपचार भइरहेको छ । यस्तै सुनसरीको कोशी गाउँपालिका(२ स्थित काली मन्दिर नजिकैको सडकमा को.२७ प २८५५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया कौसिला यादवको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएकी यादवलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका–६ सल्लाघारीमा काठमाडौंबाट शेराबगरतर्फ जाँदै गरेको बा.७५ प २६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवपुरी–५ का ५५ वर्षीय लभबहादुर जिसीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको शिवपुरी आधारभूत अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकमा पनि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पावरहाउसबाट तालचोकतर्फ आउँदै गरेको ग.२० प ५९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पोखरा–१ सिमपानीकी ३७ वर्षीया सरिता तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी उनको लेखनाथ सिटी अस्पताल हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा सोमबार साँझ बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग.२ च ३२६९ नम्बरको जीप दुर्घटनामा परी आँबुखैरेनी–६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैबीच, जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ गोठीज्युला बजारमा मिनी ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । क.प्र–०२–००१ ख २९४ नम्बरको मिनी टूकले ठक्कर दिँदा सिंजा गाउँपालिका–४ की ७२ वर्षीया धुनचुन्नी आचार्य गम्भीर घाइते भएकी थिइन् । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले सुनसरी, नुवाकोट र कास्कीका मोटरसाइकल चालक तथा तनहुँका जीप चालक र रूपन्देहीका ईभी चालकलाई नियन्त्रणमा लिएको छ । जुम्लामा दुर्घटनापछि फरार रहेका मिनी टूक चालकको खोजी भइरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update