Shittalpati
दुर्घटना र विपद्को कहर : २३ जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका सडक दुर्घटना तथा प्राकृतिक विपद्का घटनामा परी २३ जनाको मृत्यु भएको छ । विहीबार र शुक्रबार भएका छुट्टाछुट्टै दुर्घटना र विपद्का घटनामा परी उनीहरूको ज्यान गएको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सवारी दुर्घटनामा ३ जना, डुबेर २ जना, करेन्ट लागेर २ जना, चट्याङबाट १ जना र मृत अवस्थामा ४ जनाको ज्यानको गएको हो । यस्तै पहिरोबाट ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा केही व्यक्ति घाइते भएका छन् भने कतिपयको अवस्था गम्भीर रहेको बताइएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ डाँछीस्थित सडकमा बा.प्र.०१–००२ ज ९५८८ नम्बरको माइक्रोको ठक्करबाट ७० वर्षीय शंखर प्रसाद कुईकेलको मृत्यु भएको छ । गम्भीर घाइते कुईकेलको शंखरापुर अस्पताल नारायणटारमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुरमा बीआर ०१ जेए २७०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २५ वर्षीय रामशंकर माझीको मृत्यु भएको छ । गम्भीर घाइते माझीको नेशनल मेडिकल कलेज वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै, काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा बा.प्र.०१–०१६ प ७३१८ नम्बरको स्कुटर दुर्घटना हुँदा ४० वर्षीय रबी सिमखडाको मृत्यु भएको छ । गम्भीर घाइते सिमखडाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–९ अटोभिलेज नजिक नहरमा डुबेर चार वर्षीय शुसिल विकको मृत्यु भएको छ । उता कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित मछली खोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय आदेश लुहारको पनि मृत्यु भएको छ । नुवाकोटको ककनी गाउँपालिका–१ जलकिनीका ४८ वर्षीय आइत राम बलामीको विद्युतको पोलबाट करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ । 

धनुषाको नगराइन नगरपालिका–८ खिरखिरियाका २५ वर्षीय सितेस कुमार दासको खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । यस्तै रोल्पाको लु·्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका खत्रीको स्थानीय स्वास्थ्य चौकी पाङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।यसैबीच नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासका ५५ वर्षीय कृष्णबहादुर झेडी मगर गिरुबारी खोला किनारमा मृत अवस्थामा फेला परेका छन् । बिनयी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित नारायणी नदीमा नाम, थर र वतन नखुलेका एक पुरुष पनि मृत अवस्थामा फेला परेका छन् । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–२ खजुरा खोला नजिकैको बाटोमा बर्दघाट नगरपालिका–१३ का ४५ वर्षीय दशरथ यादव तथा भक्तपुर नगरपालिका–९ च्यामासिंहस्थित पाटीमा सूर्यमढीका ४१ वर्षीय कृष्णराम कोजु मृत अवस्थामा फेला परेका छन् ।
 

पहिरोमा परी ११ जनाको मृत्यु
यस्तै रोल्पाको थबाङ गाउँपालिका ५ उवा कोरलबाटा गाउँमा गएको पहिरोमा परी १० जनाको ज्यान गएको छ  भने ३ जना बेपत्ता भएका छन् । कोटलबारा गाउँको सिरानबाट एक्कासि लेदोसहितको पहिरो खस्दा बिहीबार साँझसम्म पहिरोमा परेर बेपत्ता भएकामध्ये १० जनाको शव भेटिएको छ । तीन जनाको यकिन हुन सकेको छैन । बाजुराको ताम्सुमा पहिरोमा परी एक जनाको ज्यान गएको छ  भने २ जना घाइते भएका छन् । सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान तथा उद्धार कार्य अघि बढाइरहेका छन् । वर्षायाममा सडक दुर्घटना तथा प्राकृतिक विपद्को जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update