Shittalpati
आज वराह जयन्ती मनाइँदै

पाल्पा, आज भगवान् विष्णुको तेस्रो अवतारका रूपमा मानिने भगवान् वराहको जन्मजयन्ती मनाइँदै छ । श्रावण महिनाको शुक्ल पक्षको तृतीया तिथि अर्थात् आजकै दिन भगवान् वराहको उत्पत्ति भएको मानिन्छ । वराह भगवानको उत्पत्ति भएको दिनको अवसरमा वराहक्षेत्र मन्दिरमा प्रातकालीन भगवानको स्नान यात्रा, दुग्ध अभिषेक र विशेष पूजा अर्चना गरी मनाउने गरिन्छ ।

नेपालका ऐतिहासिक महत्व बोकेको धार्मिक क्षेत्रमध्ये वराहक्षेत्र धाम पनि एक हो । प्राचीन पूर्वीय संस्कृति तथा परम्परा अनुसार वराहक्षेत्र धाममा रहेको बराह भगवान् विष्णुका १० अवतार मध्ये तेस्रो अवतार हुन् । सत्य युगमा डुब्न लागेको पृथ्वीलाई भगवान् बराहले जङ्गली जनावरको रूप धारण गरी बँदेलको भेषमा रक्षा गरी संसारभरका प्राणीहरूको रक्षा गरी संसारलाई स्थायित्व दिएको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ ।

प्रेमको प्रतीक समेत मानिने भगवान् वराहको जन्म जयन्तीको दिन ह्श्गवानको नाममा व्रत बस्ने, भगवानको आराधन र अर्चना गरे मनोकामना पुरा हुने जनविश्वास रहिआएको बताइन्छ । हिन्दु धर्मावलम्वीहरुले आजको दिन व्रत बसेर भगवान् बराहको पूजा गर्ने प्रचलन रहेको छ । श्रद्धालु भक्तजनहरूले आज व्रत बसेर पूजा गरे आफ्ना मनोकामनाहरू पुरा हुने विश्वासका साथ भक्तजनहरू शरीर शुद्ध गरेर उपवासना बस्ने गरेका छन् । वराह जयन्ती मनाउनलाई स्थानीयमात्र नभई टाढाटाढाबाट पनि भक्तजन त्यो क्षेत्र पुग्ने गर्दछन् ।

वराह अवतारले असुर हिरण्याक्षको वध गर्दै पृथ्वीलाई सुरक्षित गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । वराहक्षेत्र धाममा वराह जयन्तीका अवसरमा भगवान् वराहको स्नान, दुग्धाभिषेक, विशेष पूजा–अर्चना, गीता तथा वराह चरित्र पाठलगायतका धार्मिक कार्यक्रम गर्ने परम्परा रहिआएको छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update