Shittalpati
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

पाल्पा, युवाको भूमिका, क्षमता र योगदानलाई सम्मान गर्दै आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष अगस्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ ।  युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिएको हो ।

नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको पाइन्छ । सरकारी स्तरमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो । सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । दिवसका अवसरमा युवाको नेतृत्व विकास, शिक्षा, रोजगारी, उद्यमशीलता, सामाजिक सहभागिता तथा निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिताका विषयमा विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन् । नेपालमा पनि युवा लक्षित सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने तयारी गरेका छन् ।

युवाको क्षमता र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिँदै अन्तरक्रिया, सचेतना कार्यक्रम, कार्यशाला, खेलकुद तथा विभिन्न सामाजिक गतिविधि आयोजना गरिँदैछन् । देशको ठूलो जनसंख्या युवा रहेकाले युवालाई गुणस्तरीय शिक्षा, सीपमूलक तालिम, रोजगारी र उद्यमशीलताको अवसर उपलब्ध गराउनु आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । पछिल्लो समय रोजगारीका लागि ठूलो संख्यामा युवा विदेशिनुपर्ने अवस्था रहेकाले स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने विषय पनि दिवसका अवसरमा प्राथमिकताका साथ उठ्ने गरेको छ । युवालाई विकासका साझेदारका रूपमा अघि बढाउँदै उनीहरूको क्षमता, ऊर्जा र नवीन सोचलाई देशको आर्थिक तथा सामाजिक विकासमा प्रयोग गर्न सके समृद्ध राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update