Shittalpati
आज विश्व बाघ दिवस मनाइँदै

पाल्पा, आज नेपालसहित विश्वभर विश्व बाघ दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष जुलाई २९ मा मनाइने यस दिवसको उद्देश्य बाघ तथा यसको प्राकृतिक बासस्थानको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु र बाघ संरक्षणका लागि विश्वव्यापी प्रतिबद्धतालाई थप सुदृढ बनाउनु हो । नेपालमा पनि सरकारी निकाय, संरक्षण साझेदार संस्था तथा राष्ट्रिय निकुञ्जहरूले वृक्षारोपण, जनचेतनामूलक र्‍याली, अन्तरक्रिया, विद्यालयस्तरीय कार्यक्रम तथा संरक्षणसम्बन्धी अभियान सञ्चालन गरी दिवस मनाउन लागेका छन् । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने विभिन्न १३ मुलुकका राष्ट्र र सरकार प्रमुखको सम्मेलनले विश्वमा बाघको संख्या दोब्बर पुर्याउने संकल्प गरेको थियो ।

 सो संकल्प अनुसार नेपालले हरेक वर्ष बाघ संरक्षणका विषयमा चासो दिदै यो दिवस मनाउने गरेको छ । बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पु¥याउँछ । खाद्य शङ्ख्लामा बाघ मुख्य सिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान रहन्छ । नेपालमा बाघ संरक्षणका लागि सरकारले वार्षिक करोडौं बजेट समेत विनियोजन गर्दै आएको छ । तर पछिल्लो समय बाघहरुको उचित व्यवस्थापन हुन सकेको छैन् । वन्यजन्तुको बढ्दो भीडले निकुञ्जहरु साँघुरिएर बाघको प्राकृतिक वृद्धिका लागि प्रतिकूल बनिरहेका छन् । नेपालले बाघ वृद्धि गर्ने विषयमा चासो दिए पनि त्यसको दीगो संरक्षणमा भने त्यत्ति चासो दिएको देखिदैन । 

बाघको संख्या बढेसँगै यसको दीगो संरक्षणमा चुनौती थपिएको हो । नेपालमा बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरू घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् । उनीहरुलाई जंगल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ । विकास निर्माण लगायत वनक्षेत्र अतिक्रमणका कारण बाघको नयाँ बासस्थानमा समस्या आएको छ । घाँसेमैदानहरु घट्न गई आहारा प्रजातीको वृद्धिदर घटेको छ । 

बाघको बासस्थान पनि चरम रुपमा अतिक्रमण भइरहेको छ । बाघको अस्तित्व जोगाइ राख्न हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । जगंलको राजा भनिने बाघ सुगठित शरीर भएको बलियो र सुन्दर स्तनधारी जनावर हो । यो बिरालो परिवारको सबैभन्दा ठूलो प्रजाति हो । यो खाद्यचक्रको उपल्लो तहमा पर्छ । छालाको पहेंलो भुईंमा काला पाटाहरुले बाघ आकर्षक देखिन्छ र प्रत्येक बाघमा पाटाहरु फरक–फरक हुन्छन् । यसका पञ्जा ठूला र बलिया हुन्छन् ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update