Shittalpati
आज विश्व हेपाटाइटिस दिवस मनाइँदै

पाल्पा, आज विश्व हेपाटाइटिस दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी  नेपालसहित विश्वभर नै मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस विभिन्न  स्वास्थ्य संस्थाहरु र चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना गरी मनाइँदै छन् ।
    
हेपाटाइटिस भाइरसका कारण हुने कलेजोसम्बन्धी रोग हो । विशेषगरी हेपाटाइटिस बी र सी दीर्घकालीन संक्रमणका प्रमुख कारण मानिन्छन् । समयमै परीक्षण र उपचार नपाउँदा कलेजो सिरोसिस तथा कलेजोको क्यान्सरसम्म हुन सक्ने भएकाले यस रोगप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन् । स्वास्थ्य निकायका अनुसार हेपाटाइटिस बी विरुद्धको खोप प्रभावकारी भएकाले बालबालिकालाई नियमित खोप लगाउनुका साथै जोखिममा रहेका व्यक्तिले परीक्षण गराउनु आवश्यक छ । हेपाटाइटिस सीको पनि प्रभावकारी उपचार उपलब्ध भएकाले समयमै पहिचान भएमा पूर्ण रूपमा निको पार्न सकिने बताइएको छ । नेपालमा हुने भाइरल हेपाटाइटिसमा चार प्रमुख छन् । यसमा हेपाटाइटिस ‘ए’, हेपाटाइटिस ‘इ’, हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सी’ रहेका छन् । हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ ।

हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ । कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ । भाइरल हेपाटाइटिस साइलेन्ट किलर पनि भनिन्छ । हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन, लक्षण नदेखिँदा ढिला उपचार गराउने कारण क्यान्सर लाग्ने हुन्छ । हेपाटाइटिस बी र सी एउटा समूहमा राखिन्छ । रगत र रगतजन्य पदार्थबाट सर्ने यो प्रकारको हेपाटाइटिस शारिरीक सङ्क्रमणबाट समेत सर्दछ । सीको सङ्क्रमण धेरै लागुपदार्थ दुव्र्यसनीमा फस्नेमा देखिने गरेको छ ।
     
हेपाटाइटिस बी सङ्क्रमित आमाबाट बच्चामा सर्ने हुन्छ । परिवार र समुदायमा बढी देखिने गर्दछ । चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुने गर्छ । हेपाटाइटिस ए र ‘इ’भन्दा बी र सीकोे सङ्क्रमण घातक हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठन ( डब्लुएचओ)का अनुसार विश्वभर यी दुई प्रकारका हेपाटाइटिसबाट हरेक दिन झन्डै आठ हजार नयाँ सङ्क्रमित थपिन्छन् । यसबाट प्रत्येक वर्ष १० लाखभन्दा बढी हेपाटाइटिसका कारण मृत्यु हुने डब्लुएचओको अनुमान छ । विश्व स्वास्थ्य संगठनको विश्वव्यापी हेपाटाइटिस रणनीतिअनुसार सदस्य राष्ट्रमा सन् २०३० सम्म नयाँ हेपाटाइटिस सङ्क्रमण ९० प्रतिशत र मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update