पाल्पा, आज हरिशयनी एकादशी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको पूजा–आराधना गर्नुका साथै घर–घरमा तुलसीको बिरुवा रोपेर धार्मिक परम्परालाई निरन्तरता दिने गर्दछन् ।
धार्मिक मान्यताअनुसार आजको दिनदेखि भगवान् विष्णु चार महिनाका लागि योगनिद्रामा प्रवेश गर्ने विश्वास रहेको छ । हरिशयनी एकादशीका अवसरमा तुलसी रोप्दा घरमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा बढ्ने जनविश्वास रहेको छ । जेठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको विरुवा आज सार्ने प्रचलन छ । आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको बिरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा रहेको छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ ।
वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ । सामान्य घाँटी दुखेको निको बनाउनेदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउनेसम्ममा तुलसी उपयोगी मानिन्छ । तुलसी आफैमा सर्वगुणी भएकाले यसको संरक्षण आवश्यक छ । अर्कोतिर, यसको साइनो स्वास्थ्यसँग जोडिएकाले सफा र सहज ठाउँमा हुनुपर्छ । घरको आँगनमा तुलसी रोप्दा त्यसको प्रयोगमा त सहज हुन्छ नै घरको वातावरण राम्रो बनाउँछ । तुलसीको एक÷दुई पात नियमित रुपमा सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्छ । चिसोका कारण ज्वरोले सताएको बेला तुलसीको पातमा अदुवाको केही टुक्रा मिसाएर उमाल्नुपर्छ । त्यसलाई सेवन गर्दा रुघा ज्वरो ठिक हुन्छ । तुलसीसँग जोडिएका यस्ता थुप्रै उपचार विधिहरू छन् । यो अवधिलाई चतुर्मास पनि भनिन्छ । कार्तिक शुक्ल (हरिबोधिनी) एकादशी का दिन तुलसीविवाह गरेपछि चतुर्मास अनुष्ठान सम्पन्न हुन्छ ।
आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यतास्वरूप चार महिनासम्म नयाँ मांगलिक कार्य गरिँदैनन् । यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित पूजा पाठ अनुष्ठानलाई महत्व दिइन्छ । यद्यपि सनातन धर्मावलम्बीका महत्वपूर्ण चाडपर्व यसै अवधिमा पर्छन् । वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्व दिइन्छ । वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन् । आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको अत्यधिक उपयोग गरिन्छ । आज बिहानदेखि मुलुकभर रहेका विष्णु मन्दिरमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्ने गर्दछ ।


