Shittalpati
आज पुष्पलाल स्मृति दिवस मनाइँदै

पाल्पा, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको  स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ संगठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् । 
    
विसं २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको  स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र« निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका  थिए । विसं १९८१ असारमा रामेछापको भंगेरीमा जन्मिएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित छन् । जनमतका हिसाबले ठूलो हिस्सा कम्युनिस्ट र वामपन्थी भएपछि विभिन्न टुक्रामा विभक्त हुँदा उनले देखेको सपना पूरा हुन नसकेको गुनासो कायमै छ । संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ ।

जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । वि.सं. २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने पहिलो नेताका रूपमा पुष्पलाललाई मानिन्छ । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् । व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, अभावैअभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् । 

नेपाली काँग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्नुपर्छ भन्नेमा पुष्पलाल सधैँ लागिरहे । अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता रहेको थियो । उनले  नेपालको गहिरो इतिहास अध्ययन गर्नाका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् । नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update