Shittalpati
साउनको पहिलो सोमबार : शिव मन्दिरमा भक्तजनको घुइँचो

पाल्पा, साउन महिनाको पहिलो सोमबार हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरेका छन् । साउने सोमबारको अवसरमा पाल्पासहित देशभरका विभिन्न स्थानमा रहेका शिवालय मन्दिर तथा धामहरुमा भक्तजनको भिड लागेको हो । साउने सोमबारका अवसरमा बिहानदेखि नै मन्दिरमा भक्तजन पूजा एवं दर्शनका लागि लाइनमा बसेका थिए ।

पाल्पाका तानसेनस्थित नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय मन्दिरमा भगवान शिवको पूजाआजा तथा भजन कीर्तन गर्ने भक्तजनको घुइँचो लागेको थियो । यहाँका मन्दिरमा  पाल्पा र आसपासबाट भक्तजन पुगेका थिए । यस्तै, तिनाउ गाउँपालिका–३ दोभानस्थित सिद्धबाबा मन्दिरमा भक्तजनको अध्याधिक घुँइचो लागेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । सिद्धपुरुष भर्तृहरिको तपोभूमि तथा आदिमानव रामपिथेकसको विचरणस्थलका रूपमा परिचित सिद्धबाबा पुरातात्विक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण भएकाले यहाँ श्रद्धालुको घुँइचो लागेको हो । भक्तजनले सहज रूपमा मन्दिरमा पूजा तथा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको थियो । 

यहाँ पाल्पासहित रुपन्देही, नवलपरासी, कपिलवस्तुका साथै छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालु आएका थिए । मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि  सहजता वातावरण बनाइएको थियो । यस्तै, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासनमा पनि पूजाआजा र दर्शन गर्नेहरूको घुँइचो लागेको थियो । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्दछ ।  स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास भएकाले विशेष गरी महिला भक्तजन शिव पिठहरुमा पुग्ने गर्दछन् । महिलाले विशेषगरी हरियो रङका वस्त्र, चुरा र मेहँदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहँदैआएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो ।
    
 त्यसैले पनि साउने सोमबार शिवालयहरुमा दर्शनार्थी भक्तजनको विशेष भिड लाग्दछ । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ । विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ ।  साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । 

पुराणमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन् साउने सोमबार, सोर्‍ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ । शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्, ‘मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।’ यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ४, ११, १८ र २५ गते सोमबार परेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update