पाल्पा, हिन्दू धर्मावलम्बी अन्तगर्त स्मार्त समुदायले आज श्रद्धा र भक्तिपूर्वक योगिनी एकादशी व्रत मनाउँदै छन् । प्रत्येक वर्ष असार कृष्ण पक्षको एकादशी तिथिमा पर्ने यो व्रत भगवान विष्णुको आराधना गरी मनाइने गरिन्छ । धार्मिक मान्यताअनुसार योगिनी एकादशीको व्रतले पापबाट मुक्ति, मानसिक शान्ति तथा सुख–समृद्धि प्राप्त हुने विश्वास छ । शास्त्रहरूमा उल्लेख भएअनुसार योगिनी एकादशीको महत्व अत्यन्त विशेष मानिएको छ ।
पद्मपुराणमा वर्णन गरिएअनुसार यस व्रतको प्रभावले अनेकौं पापकर्म नष्ट हुने र मोक्ष प्राप्तिको मार्ग खुल्ने विश्वास गरिन्छ । यस दिन व्रतालुहरूले बिहान स्नान गरी भगवान विष्णुको विधिपूर्वक पूजा–आराधना, तुलसी अर्पण, दीप प्रज्वलन तथा व्रतकथा श्रवण गर्ने परम्परा छ । धार्मिक आस्थाअनुसार व्रत बस्नेहरूले दिनभर अन्न त्याग गरी फलाहार वा निराहार बस्ने तथा राति भजन–कीर्तन र विष्णु नामस्मरण गर्ने चलन रहेको छ । द्वादशी तिथिमा ब्राह्मण वा आवश्यकतामा रहेका व्यक्तिलाई दान–दक्षिणा दिएर व्रत समापन गर्ने परम्परा पनि रहेको छ । धर्मविद्हरूका अनुसार योगिनी एकादशी केवल धार्मिक अनुष्ठान मात्र नभई आत्मसंयम, सदाचार, सेवा र दानको भावनालाई जीवनमा आत्मसात् गर्ने अवसर पनि हो । देशभरका विष्णु मन्दिरहरूमा आज विशेष पूजा, आरती तथा भक्तजनहरूको उपस्थितिसँगै धार्मिक कार्यक्रमहरू आयोजना भइरहेका छन् । योगिनी एकादशीले धार्मिक आस्था, आध्यात्मिक साधना र सामाजिक सद्भावलाई थप मजबुत बनाउने पर्वका रूपमा विशेष महत्व राख्दै आएको छ । यस एकादशीका व्रतको प्रभावबाट समस्त पापकर्महरु नाश हुन्छन्, भूलोकमा परम सुख प्राप्त गरी मरेपछि मोक्षको भागी भइन्छ भन्ने धार्मिक विश्वास छ । यस एकादशीको विधि–विधान पुर्याएर व्रत गर्ने व्यक्तिलाई ८८ हजार व्राह्मणहरुलाई भोजन गराएबराबरको पुण्य प्राप्त हुने कुरा स्कन्दपुराण र ब्रह्माण्डपुराणमा वर्णन गरिएको छ । योगिनी एकादशीको व्रत कथा सुन्दा र सुनाउँदा मात्र १०० गाईदान गरेबराबरको पुण्य पाइने बताइएको छ ।


