पाल्पा, शीत काव्य समाज नेपालले शीत परिकल्पनाको छैटौं स्थापना दिवस विभिन्न कार्यक्रम गरी तानसेनमा मनाएको छ । समाजले पुरस्कार समर्पण, सम्मान अर्पण, कृति विमोचन र शीत वाचन तथा लेखन जस्ता कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रमको पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई उद्घाटन गर्दै उनले साहित्यको क्षेत्रमा नयाँ विधाका रुपमा आएको शीतले छोटो समयमै समाजमा रचनात्मक काम गर्न सफल भएको बताए । कार्यक्रममा शीत परिकल्पनाकार पुष्कर अथक रेग्मी, साहत्यिकारहरु प्रकाश कोइराला, दुर्गा अधिकारी भमरकोटे, दीर्घबहादुर चन्द लगायतले आ–आफ्ना धारणा राखेका थिए । सोही अवसरमा ‘जुलुस’कृति विमोचन गरिएको थियो । लव जोशीद्धारा लिखित कृतिको प्रमुख अतिथि, अध्यक्ष, परिकल्पनाकार र लेखकले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा प्रा.डा.कमल गौतम, द्वितीय शीत ईश्वर इन्दिरा ज्ञवाली पौडेल, तृतीय शीत ईश्वर, शारदा ज्ञवाली ढकाल, नवौं शीत ईश्वर के.पि. सत्यनारायण ढकाल, दशौं शीत ईश्वर भोजभक्त कँडेल एघारौं शीत ईश्वर विमला ढकाल समीक्षा लयातले कृति सफलताको शुभकामना व्यक्त गरेका थिए । कृतिको साहित्यकार चन्द्रा न्यौपानेले समीक्षा गरेकी थिइन् । प्रथम शीत ईश्वर कृष्णबहादुर केसीको अध्यक्षता, एघारौं शीत ईश्वर विमला ढकाल समीक्षाको स्वागत, कलाकार विष्णु गुरूङको शीत स्वागत गान, शीत गान सरस्वती अर्याल र सातौं शीत ईश्वर दामोदर ढकाल ‘दीपक’ को सञ्चालनमा कार्यक्रम भएको थियो । सोही अवसरमा शीत काव्य समाजको लोगो अंकित टिसर्ट समेत लोकार्पण गरिएको थियो । कार्यक्रममा शीत ईश्वरहरु के.पि. सत्यनारायण ढकाल, भोजभक्त कँडेल विमला ढकाल समीक्षा शीतकर्णशिवकुमारी पुरस्कारबाट पुरस्कृत भएका छन् भने साहित्यकार लव जोशी, भाषा सम्पादक शिव शर्मा, संगीतकार विष्णु गुरूङ, गायिका सुशीला ढकाल अधिकारी, सरस्वती अर्याल, दिपा दियाली, अम्बिका आचार्यलाई शीत सम्मानद्वारा सम्मान गरिएको थियो ।


