Shittalpati
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै ‘पूर्वखोला’

पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले यहाँका प्रत्येक वडा–वडाहरुमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य संस्था भए पनि सुविधा सम्पन्न भवन र दक्ष जनशक्ति नहुँदा सामान्य उपचारका लागि घटौं लगाएर यहाँका नागरिक तानसेन र बुटवल जानुपर्ने बाध्यता रहेकोमा पालिकाले अहिले वडा–वडामा सुविधा सम्पन्न भवन निर्माण गरी दक्ष स्वास्थ्यकर्मीमार्फत स्वास्थ्य सेवा दिन लागेको हो ।

जबसम्म नागरिकको स्वास्थ्य सबल हुँदैन तबसम्म अन्य परिवर्तनको पनि अर्थ रहँदैन भनि स्वास्थ्य क्षेत्रमा लगानी बढाउने निर्णय गरी सुविधा सम्पन्न भवनमार्फत सेवा दिन थालेको पालिका अध्यक्ष नुन बहादुर थापाले बताए ।  उनले स्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रतिफलसहितका योजना बनाएर अघि बढेको उल्लेख गरे । ६ वटा वडा रहेको यहाँ गाउँपालिकाले वडा नं. ४ बाहेकका सबै वडाहरूमा नयाँ र गुणस्तरीय भवनबाट स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । नवनिर्मित दुई वटा भवनको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु, प्रदेशका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठ,  गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले संयुक्त रुपमा वडा नं. १ को सिलुवा स्वास्थ्य चौकी र वडा नं. २ को जल्पा स्वास्थ्य चौकी भवनको उद्घाटन गरी सेवाको शुभारम्भ गरेका छन् । पालिका भित्रका ६ वटा वडाहरूमध्ये वडा नं. १ सिलुवा, वडा नं. २ जल्पा, वडा नं. ३ रिङनेरह, वडा नं. ५ विरकोट र वडा नं. ६ हेक्लाङमा संघीयता पछि गाउँपालिकाको प्रमुख अग्रसरमा स्वास्थ्य चौकीहरु  निर्माण भएका हुन् ।  वडा नं. ४ देवीनगरमा पनि स्वास्थ्य चौकी भवन निर्माण कार्य भईरहेको छ । जल्पा र सिलुवा दुवै स्वास्थ्य चौकीको उद्घाटन गर्दै प्रमुख अतिथि एवं प्रदेश स्वास्थ्य मन्त्री सारुले  स्वास्थ्यको पूर्वाधार विकासले स्वास्थ्य सेवा प्रवाहमा ठूलो सुधार ल्याउने बताए । हिजोका दिनमा टिनको टहरा र साँघुरो  कोठाबाट शुरु भएको गाउँ–गाउँको स्वास्थ्य सेवा अहिले गुणस्तरीय भवनबाट सञ्चालन हुँदै  गएको स्वास्थ्य मन्त्री सारुले बताए । सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन पहिलो आवश्कता भौतिक पुर्वाधार भएकाले प्रदेशका १०९ वटै पालिकाको ९ सय ८३ वटै वडामा स्वास्थ्यका पुर्वाधारहरु निर्माणमा प्रदेश सरकारको प्राथमिकता रहेको उनले उल्लेख गरे । राम्रा चिटिक्क परेका भवनमा पर्याप्त कोठाहरु रहेकाले स्वास्थ्य चौकीले प्रदान गर्ने सबै किसिमका स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन कर्मचारी तथा स्वास्थ्यकर्मी सक्रिय भएर लाग्नु पर्नेमा स्वास्थ्य मन्त्री सारुले जोड दिए । प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले स्वास्थ्य नै मानिसको जीवन भएकाले आधुनिक पुर्वाधारबाट पूर्वखोलाका जनताले अबका दिनमा अझै गुणस्तरीय प्रभावकारी स्वास्थ्य सेवा पाउने बताए । विकासको आधार नै भौतिक पुर्वाधार भएकाले सिलुवा स्वास्थ्य चौकीमा जनताको चाहाना अनुसार अझै स्वास्थ्य सेवा विस्तार हुने उनले उल्लेख गरे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले पूर्वखोला  गाउँपालिका, प्रदेश र संघ सरकारको त्रिपक्षीय लगानी र सबैको सामूहिक प्रयासबाट सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएकाले पूर्वखोलाका  नागरिकले आफ्नै गाउँमा भरपर्दो र गुणस्तरीय उपचार सेवा पाउने बताए । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले पाल्पामा ८१ वटा वडा मध्ये अधिकासं वडाहरुमा नयाँ स्वास्थ्य चौकीसहित सेवा सञ्चालनमा रहेको बताए । पाल्पा लगातार तीन  बर्षसम्म प्रदेशमा उत्कृष्ट  बनेको उनले बताए । जिल्लालाई पूर्ण संस्थागत सुस्केरी गराउने जिल्ला घोषण गर्ने तयारीमा कार्यालय जुटेको  समेत पोखरेलले बताए । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले पालिका भित्र स्वास्थ्य चौकीले प्रदान गरेको स्वास्थ्य सेवा उत्कृष्ट रहेको र आगामी दिनमा अझ राम्रो हुँदै जाने बताए । जिल्लाका १० पालिकाहरु मध्ये पूर्वखोलाको स्वास्थ्य सेवा राम्रो भएकाले स्वास्थ्य कार्यालयबाट पुरस्कृत हुँदै आएको उनले बताए । नयाँ निर्माण भएका भवनहरुमा प्रशासन र मेडिकल डिपार्ट छुट्टाछुट्टै रहेका छन् । विरामी दर्ता, बहिर· विरामी चेकजाँच, गर्भवती चेकजाँच, सुत्केरी कक्ष, औषधी भण्डारण कक्ष, स्टोर, औषधी वितरण कक्ष, ल्याव सेवा, खोप सेवा कक्ष, नर्सिङ कक्ष, परिवार नियोजन  तथा मनोपरामर्श कक्ष, माईनटर ओटी कक्ष, व्यस्थित शौचालय रहेका छन् भने प्रशासनतर्फ कार्यालय प्रमुख, लेखा शाखा, बैठक कक्ष, तालिम हल तथा अतिथि कक्षहरु रहेका छन् । कार्यक्रममा दुवै वडाका महिला स्वयमसेविका, स्वास्थ्यकर्मी, जग्गादाताहरुलाई दोषल्ला ओढाएर, प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमका सहभागीहरुले भौतिक संरचना बनेसँगै अब सेवाको गुणस्तरमा पनि कुनै सम्झौता नगर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेका छन् ।  स्थानीय बासिन्दाहरूले आफ्नै गाउँमा सुविधासम्पन्न भवन बनेकोमा खुसी व्यक्त गर्दै अब सामान्य उपचारका लागि पनि शहर धाउनुपर्ने बाध्यता अन्त्य हुने आशा व्यक्त गरेका छन् । विरकोटमा निमार्णाधिन  १५ शैयाको पालिका अस्पताल निर्माण सम्पन्न गरी   सञ्चालनमा ल्याउने तयारीमा गाउँपालिका जुटेको छ । पूर्बखोलाले स्वास्थ्य पूर्वाधारमा देखाएको सक्रियताले अन्य स्थानीय तहका लागि पनि प्रेरणाको स्रोत बनेको छ । वडा नं. ४ को देवीनगर स्वास्थ्य चौकी भवन छिटो सम्पन्न गरी सिंगो पालिकालाई नै ‘शतप्रतिशत आधुनिक स्वास्थ्य पूर्वाधार युक्त पालिका’ बनाउन गाउँपालिका लागेको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update