पाल्पा, पाल्पा अस्पतालको स्तरोन्नति गर्न प्रतिवद्धत भएर लाग्ने जिल्लाका सरोकारवालाहरुले बताएका छन् । शनिबार पाल्पा अस्पतालले आयोजना गरेको नागरिक सरोकारवालाहरुसँगको छलफलमा उनीहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफुहरु गम्भीर रहेको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वधारको विकाससँगै स्तरोन्नतिमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
कार्यक्रममा तानसेन नगरपालिकाका पूर्व नगर प्रमुख अशोक कुमार शाहीले पाल्पा अस्पतालको स्तरोन्नतिमा आफुले पहिलेदेखि नै पहल गर्दै आएको बताए । उनले भने “ अस्पतालको भौतिक पूर्वाधारको विकास नभएसम्म सेवा प्रवाहको स्तरोन्नति हुँदैन । यसका लागि पहिले भौतिक पूर्वाधारको विकास हुन जरुरी छ । यसका लागि अस्पताल एक्लैको प्रयास सम्भव छैन । यसका लागि जनप्रतिनिधी, नागरिक समाज र राजनैतिक दलको सहयोग आवश्यक रहने गर्दछ ।”
कार्यक्रममा अन्य सहभागी नागरिक अगुवाहरुले, अस्पतालमा विरामी बढ्नुका कारण नै सेवा गुणस्तरीय भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा सबैको साथ रहने बताए । उनीहरुले, विरामीसँगको शैली ब्यवहार नरम हुनु पर्ने, छुट्टै शौचालय ब्यवस्थापन हुनुपर्ने, गुणस्तरीय औषधी व्यवस्था हुनु पर्ने, अक्सिजन प्लान्ट मर्मत गरी सञ्चालन गर्नुपर्ने, विरामी जाँच गर्ने कोठा अलग्गै हुनुपर्ने लगायतका सुझाव राखेका थिए ।
विगत केही वर्ष यता यस अस्पतालले विरामीको सेवा प्रवाहमा उल्लेखनीय सफलता पाउँदै जाँदा विरामीको चाँप समेत थेग्नै नसक्ने गरि बढ्दै गएको छ । तर पर्याप्त भौतिक पूर्वधार नहुँदा सेवा प्रवाहमा अस्पतालले समस्या भोग्नु परेको छ ।
सरकारको नीति र कानुनका कारण अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि हरेक वर्ष आउने बजेट फ्रिज हुने गरेको अस्ताल विकास समिति अध्यक्ष अजय मान कर्माचार्यले बताए । अस्पताल निर्माण लागि १५ रोपनी जग्गा आवश्यक पर्ने सरकारी मापदण्ड भए पनि अस्पतालको ८ रोपनी जग्गा मात्र भएका कारण समस्या आएको उनको भनाई छ । जग्गा अभावका कारण भौतिक संरचना निर्माण गर्न नसकिएको अध्यक्ष कर्माचार्यले बताए । जग्गा व्यवस्थापनका लागि पाल्पाली नागरिक, राजनैतिक दल, र जनप्रतिनिधीको सहयोग आवश्यक रहको उनको भनाई छ ।
अस्पतालमा दरवन्दी अनुसार चिकित्सक नभएता पनि आफुहरुले विरामीको लागि सक्दो सेवा दिएको अस्पतालका मेडिकल अफिसर डा. विपिन पौडेलले बताए । उनले अस्पतालमा दक्ष विज्ञ चिकित्सकहरु रहेको र विरामीको लागि आवश्यक पर्ने सबै सेवा गुणस्तरीय भएका कारण दैनिक ५०० हाराहारीमा विरामी आउने गरेको उल्लेख गरे । उनले अस्पतालबाट विरामीलाई दिइने सेवा र औषधीमा ढुक्क हुन समेत सबैलाई आग्रह गरे ।
अस्पतालले न्युनतम सेवा मापदण्डको आधारमा समेत यस वर्ष ६७ प्रतिशत अंक प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा मापन गरिँदा अस्पतालले सो अंक पाएको हो । यो विगतको तुलनामा सुधारोन्मुख अंक हो । अघिल्लो वर्षको मापन अनुसार ६४ प्रतिशत रहेकोमा अहिले ३ प्रतिशत बढेको हो । २०८० मा भने ५४ प्रतिशत अंक अस्पतालले पाएको थियो । अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, सरसफाइ, वहिरङ्ग सेवा, इमर्जेन्सी सेवा, प्रयोगशाला, फार्मेसी, व्यवस्थापन लगायतका विषयलाई मुख्य आधार मानेर न्यूनतम सेवा मापदण्ड र सम्पादनका आधारमा अस्पतालले यस वर्ष कुल ६७ प्रतिशत अङ्क अर्थात् ६०२ नम्वर प्राप्त गरेको हो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको छ ।


-1762576335.jpg)