Shittalpati
 संस्कृति संरक्षणमा धुर्कोट गाउँपालिका : नौमती बाजा संरक्षण गर्न विद्यार्थी र महिलालाई प्रशिक्षण

गुल्मी,  गुल्मीको धुर्कोट गाउँपालिकाले नौमती बाजा संरक्षणका लार्गि  विद्यार्थी र महिलालाई प्रशिक्षण दिएको छ । नौमती बाजा नयाँ युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यसहित गाउँपालिकाको वडा नम्बर–१, स्थित नयाँगाउँ माध्यमिक विद्यालयमा दश दिनसम्म कक्षा ६ र ७ मा अध्ययरत विद्यार्थी र यहाँका जनजाति महिलालाई सो प्रशिक्षण प्रदान गरिएको हो । 

त्यस्तै, वडा नम्बर–३, हाडहाडेका जनजाति महिलाहरुलाई पनि दश दिनसम्म नौमती बाजा बजाउने प्रशिक्षण प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले मौलिक संस्कृति संरक्षण अन्तर्गत लोप हुन लागेको मौलिक नौमती बाजाको संरक्षणका लागि प्रशिक्षण प्रदान गरिएको बताए । उनले नौमती बाजालाई पुस्ता हस्तान्तरण र संरक्षण गर्नुका साथै व्यवसायिक बनाउने मुख्य उद्देश्य रहेको बताए । 

नौमती बाजाको समुदायमा माग रहेता पनि जनशक्तिको निकै अभाव भएका कारण संस्कृति संरक्षण लगायतका विभिन्न विषयलाई मध्यनजर गरेर हाललाई दुई वडाका सम्बन्धित नागरिकलाई प्रशिक्षण प्रदान गरिएको उनले बताए । स्थानीयको माग अनुसार चार लाख बराबरको प्रशिक्षण कार्यक्रमको तय गरिएको हो । स्थानीयलाई आत्मनिर्भरसंगै स्वरोजगार बनाउने तथा परम्परागत रूपमा रहेको लोक संस्कृतिको जगेर्ना गर्ने समेत उद्देश्य रहेको अध्यक्ष पोखरेलले बताए । छुट्टाछुट्टै भएको सो प्रशिक्षणमा नयाँगाउँ माध्यमिक विद्यालयका कक्षा ६ र ७ मा अध्ययनरत १५ जना विद्यार्थी, नयाँगाउँ र हाडहाडेका ३० जना जनजाति महिलाको सहभागिता थियो । स्थानीयको माग अनुसार गाउँपालिकाबाट नौमती बाजा संरक्षणका लागि प्रशिक्षण पाएसंगै सहभागीहरुले खुसी भएको बताए ।

उनीहरुले प्रशिक्षणसंगै नौमती बाजाको सेट समेत हस्तान्तरण गरेको प्रति गाउँपालिकालाई धन्यवाद दिँदै आफुले सिकेको कलालाई निरन्तरता दिने बताए । रामचन्द्र सेवा र कलाकार सुनिल थापाले नौमती बाजा बजाउने प्रशिक्षण सहभागीलाई प्रदान गरेका थिए ।

 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update