गुल्मी, शनिबार पाल्पा, गुल्मीसहित देशैभर दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ । कोदो बालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी कोदो दिवस मनाइएको हो ।
मन्त्रिपरिषद्को २०८१ साल असार तेस्रो साताको बैठकले गरेको निर्णयअनुसार २०८२ सालदेखि राष्ट्रिय कोदो दिवस मनाउन थालिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइन्छ । यस दिन गुल्मीको मालिका, मुसिकोट, इस्मा लगायत पाल्पासहित देशभरका बारीमा कोदो रोपिएको छ । ठाउँ–ठाउँमा खेतालाहरुले स्थानीय लोकभाकाका गीत, मादल, झ्याली र सहनाइसँगै रोपाइँ गरेका छन् । कोदो बालीका लागि धेरै मेहनत गर्नु नपर्ने र स्वास्थ्यका लागि पनि उपयोगी हुने भएकाले यसको प्रवद्र्धनमा जोड दिँदै आइएको छ । कोदो दिवस मनाउँदै गर्दा करोडौँको आयात गरिँदै आइएको कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने कृषिविज्ञ बताउँछन् । राम्रोसँग भण्डारण गरेमा सयौँ वर्ष पनि सुरक्षित रहने भएकाले कोदो भविष्यमा खाद्य सड्ढट हटाउन सहयोगी हुने बताइएको छ ।

पछिल्लो समय पौष्टिक अन्नको रुपमा रहेको कोदो खेती हराउँदै जान थालेपछि सरकारले त्यसको संरक्षण गर्ने उद्देश्यले हरेक यो दिवस मनाउन थालेको हो । गुल्मीमा २ हजार ८ सय २२ हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुँदै आएको छ भने पाल्पामा २ हजार ५ सय ३७ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिन्छ । पाल्पाको पश्चिमी भेगका तत्कालीन सत्यवती, कचल, ज्यामिरे, बल्ढेङ्गढी, भुवनपोखरी गाविसका अधिकांश किसानले कोदो खेती गर्दथे । यस्तै पूर्वी भेगका अर्चले, मित्याल, जल्पा, रिङ्नेरह, बहादुरपुर, बाकामलाङ्ग, सहलकोट, झिरुबास लगायतका ठाउँका किसानको मुख्य खाद्यान्न बाली कोदो थियो । उता गुल्मीको ताल्तुङ्ग, उजुङ्ग, ढाडा, बडागाउँ, मुसिकोट, पौदी अमराई, इस्मा लगायतका स्थानमा कोदो खेती गरिर्दै आइएको थियो । तर हिजोआज भने कोदो खेती पुरै विस्थापित हुने अवस्थामा पुगेको किसानहरू बताउँछन् ।
स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदो बाली अहिले पाल्पा र गुल्मीका सिमित गाउँमा मात्र खेती गरिन्छ । रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै शहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । तर कोदो खेती गर्ने किसानको संख्या दिनहुँ घट्दै गएको गुल्मी इस्माका गर्भ मल्लको भनाई छ । “पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भात भएकाले कोदो खेती विस्थापित भएको छ,”मल्लले भने “अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन नै भयो ।” पाल्पा तिनाउ गाउँपालिका कचलका रमेश बगालेले अहिले घरका लागि आवश्यक पर्ने मात्र आफूले बारीमा कोदो खेती गरेको भन्दै कोदो रोप्ने प्रचलन हटेको बताए । अहिले शहरी क्षेत्रमा यसको अत्याधिक माग भएपनि उत्पादन घट्दै गएको उनको भनाई छ । गाउँघरमा कोदोको महत्व नबुझ्दा यो अन्नलाई गरिबले खाने भन्दै घृणाको रुपमा हेरिनाले पनि यसको खेती हुन छोडेको बगालेले बताए ।


