पाल्पा, तानसेनस्थित गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। सहकारीले शुक्रबार तानसेनमा औपचारिक कार्यक्रम आयोजना गरी साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको हो ।
सभाको उद्घाटन सहकारीका सल्लाहकार तथा संस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि दमबहादुर रानाले गरेका थिए । उद्घाटन गर्दै रानाले सानो पुँजीबाट स्थापना भएको सहकारी अहिले करोडौँ रुपैयाँको पुँजी निर्माण गर्न सफल भएको बताए। सहकारी स्थापना गर्दा आफूहरूले विभिन्न समस्या र चुनौती सामना गर्नुपरे पनि सबैको साथ र सहयोगका कारण संस्था समृद्धिको दिशामा अघि बढ्न सफल भएको उनको भनाइ थियो । रानाले शेयर सदस्य नै सहकारीका वास्तविक मालिक भएकाले संस्थालाई कस्तो बनाउने भन्ने विषय उनीहरूकै सक्रियता र भूमिकामा निर्भर रहने बताए। उनले सहकारीप्रति जागरुक र क्रियाशील बन्न शेयर सदस्यलाई आग्रह गरे । सहकारीका कानुनी सल्लाहकार शिवप्रसाद देवकोटाले कतिपय सहकारीले नियम तथा कानुनको पालना नगर्दा समस्या उत्पन्न भएको बताए । गणेश सहकारीले भने सहकारीका सिद्धान्त, मूल्य–मान्यता तथा प्रचलित कानुनलाई आत्मसात् गर्दै अघि बढेको उल्लेख गरे । सहकारीहरू कानुनी व्यवस्थाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले आवश्यक कानुनी परामर्शका लागि आफू सधैँ तयार रहेको बताए । नवजनचेतना राष्ट्रिय दैनिकका सम्पादक रामचन्द्र रायमाझीले गणेश सहकारीले गर्दै आएका गतिविधि प्रशंसनीय रहेको बताए । उनले आगामी दिनमा पनि सहकारीले सदस्यको नेतृत्व तथा क्षमता विकासमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सहकारीले बचत तथा ऋण कारोबारसँगै शेयर सदस्यको नेतृत्व र क्षमता विकासका लागि समय–समयमा शिक्षा तथा प्रशिक्षण प्रदान गर्दै आएकोमा खुसी व्यक्त गर्दै रायमाझीले व्यक्तिको जीवनस्तर सुधारमा सहकारीले अझ ध्यान दिनुपर्ने बताए । व्यक्तिको अवस्था सुधार भए मात्रै समाज र राष्ट्रको अवस्था सुधार हुने उनको भनाइ थियो ।
उनले सहकारीका सञ्चालकको इमान्दारिता र पारदर्शिताका कारण संस्था व्यवस्थित रूपमा अघि बढेको आफूले महसुस गरेको बताए । कार्यक्रममा सहकारीका अध्यक्ष विष्णु गाहाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै आफ्ना गतिविधि अघि बढाइरहेको बताए । उनले आगामी वर्ष शेयर सदस्य संख्या वृद्धि गर्ने, ७० वर्षभन्दा माथिका ज्येष्ठ सदस्यलाई सम्मान गर्ने, उत्कृष्ट बचत तथा कर्जा कारोबार गर्ने सदस्यलाई सम्मान गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने तथा सदस्यलाई पोशाक उपलब्ध गराउनेलगायतका योजना प्रस्तुत गरे । अध्यक्ष गाहाले सदस्यलाई ढुक्क भएर सहकारीमा लगानी गर्न आग्रह गर्दै गणेश सहकारीमा कुनै समस्या नरहेको बताए । सहकारीका मूल्य–मान्यताअनुसार काम गरे पनि ऋण असुलीका लागि प्रभावकारी नीति तथा कानुनी प्रावधानको अभावमा साना सहकारीलाई समस्या भइरहेको उनले बताए । अध्यक्ष गाहाका अनुसार सहकारीमा हाल १ हजार ५ सय ९१ जना शेयर सदस्य रहेका छन् । सहकारीको शेयर पुँजी १ करोड ४६ लाख ५ हजार ९ सय रुपैयाँ रहेको उनले जानकारी दिए । गत वर्षको तुलनामा चालु वर्ष सहकारीको शुद्ध नाफा वृद्धि भई २० लाख ४५ हजार ६ सय ८९ रुपैयाँ पुगेको उनले बताए । कार्यक्रममा लेखा समिति संयोजक हेमानसिं सारु थापाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष चन्द्रबहादुर खाम्चाले आर्थिक वर्ष २०८३÷८४ का लागि २ करोड ८९ लाख ४ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए । साधारण सभाका अवसरमा सहकारीले ज्येष्ठ नागरिक रामबहादुर थापा र पदमबहादुर थापालाई सम्मान गरेको थियो। यस्तै उत्कृष्ट शेयर सदस्य, नियमित बचतकर्ता, बाल बचतकर्ता, असल बचतकर्ता, आवधिक बचतकर्ता, एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।
उत्कृष्ट बाल बचतकर्तातर्फ डेनिश्वर गाहा, दिपेश थापा र जेनिसा गाहा सम्मानित भए । नियमित बचतकर्तातर्फ प्रेमबहादुर बराल, मायादेवी राना, प्रेमबहादुर राना र नविना खाम्चा छेत्री सम्मानित भए । आवधिक बचतकर्तातर्फ निर्मला रेस्मी र जोन श्रेष्ठ तथा असल बचतकर्तातर्फ नरमाया सिं मगर र प्रेम विश्वकर्मालाई सम्मान गरिएको थियो । त्यस्तै एसईईमा उत्कृष्ट अंक ल्याउने समिक्षा थापा, सृष्टि थापा र मौलिक मलेगोलाई सम्मान गरिएको थियो। कर्मचारीतर्फ व्यवस्थापक गुनी रेस्मी, लेखापाल सरिता बुढा, सहायक लेखापाल निरुता बगाले मगर तथा बजार प्रतिनिधिहरू शिरा सूर्यवंशी, बेगम थापा र चम्पा रानालाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष विष्णु गाहाको अध्यक्षता, उपाध्यक्ष दलबहादुर थापाको स्वागत तथा सचिव कान्तिमाया आलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


