पाल्पा, सुनसरीलगायतका जिल्लामा हालै भएका घटनाप्रति पाल्पाका ६ राजनीतिक दलहरूले गम्भीर ध्यानाकर्षण जनाउँदै सामाजिक सद्भाव, संयमता र शान्ति कायम राख्न संयुक्त अपिल गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको विविधताबिचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै नागरिकसँग आग्रह गरेका छन् । उनीहरूले समस्या समाधानका लागि आवेग र उत्तेजनाभन्दा पनि शान्तिपूर्ण संवाद तथा सहमतिको मार्ग अपनाउनुपर्नेमा जोड दिएका छन् ।
दलहरूले घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले विविधताबीचको एकता नै राष्ट्रिय पहिचान भएको उल्लेख गरिएको छ । धर्म, जात, भाषा वा समुदायभन्दा माथि उठेर आपसी सम्मान, सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउनुपर्नेमा दलहरूले जोड दिएका छन् ।
कठिन परिस्थितिमा नागरिकलाई धैर्य, संयम र जिम्मेवारीपूर्वक प्रस्तुत हुन आग्रह गर्दै दलहरूले अपुष्ट सूचना, अफवाह तथा सामाजिक सञ्जालमार्फत द्वेष फैलाउने गतिविधिबाट टाढा रहन समेत अनुरोध गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष, पारदर्शी र कानुनसम्मत छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन तथा निर्दोष नागरिकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । साथै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था र सञ्चारमाध्यमलाई शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा साझा पहल गर्न आग्रह गरिएको छ । “हामी सबैभन्दा पहिले नेपाली हौं, मानव हौं र एकअर्काका सहयात्री हौं,” विज्ञप्तिमा भनिएको छ, “शान्ति, सद्भाव र सहअस्तित्व नै समृद्ध नेपालको आधार हो ।” विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सभापति विष्णु प्रसाद भण्डारी, नेपाली कांग्रेस पाल्पाका सभापति हिमादत्त श्रेष्ठ, नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती मगर, नेपाली कम्युनिस्ट पार्टी पाल्पाका इन्चार्ज यादवबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुलबहादुर कुँवर र राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले हस्ताक्षर गरेका छन् ।


