पाल्पा, नेपाली समाजमा साउन महिनाको विशेष महत्व छ । विशेषगरी साउन पन्ध्रलाई खिर खाने, परिवार र आफन्तसँग भेटघाट गर्ने तथा कृषि संस्कृतिसँग जोडिएको पर्वका रूपमा मनाइँदै आएको छ । तर पछिल्ला वर्षहरूमा यसको मौलिकता हराउँदै गएको भन्दै पुराना पुस्ता चिन्तित देखिएका छन् । पहिले गाउँघरमा साउन १५ आउनुअघि नै दूधको जोहो गर्ने, नयाँ धानको चामल कुट्ने चलन थियो । गाई वा भैंसीको ताजा दूधलाई घण्टौँसम्म मन्द आगोमा पकाइन्थ्यो । स्थानीय धानबाट उत्पादन भएको सुगन्धित चामल, घरमै बनाइएको घ्यू, सख्खर वा सीमित मात्रामा चिनी, साथै इलाइची, तेजपात र घरेलु मसालाले खिरलाई प्राकृतिक स्वाद दिन्थे । पकाउने क्रममा परिवारका सदस्यहरू भेला भएर गफ गर्ने, पालैपालो चलाउने र अन्त्यमा सबैले सँगै बसेर खाने चलनले यसको मिठास अझ बढाउँथ्यो । तर अहिलेको व्यस्त जीवनशैलीले भने त्यो परम्परा परिवर्तन गरेको छ । बजारमा पाइने प्रशोधित दूध, छिटो पाक्ने चामल, कृत्रिम फ्लेभर, अत्यधिक चिनी तथा तयारी मसालाको प्रयोग बढेसँगै खिरको स्वाद मात्र होइन, यसको मौलिकता पनि प्रभावित भएको जानकारहरू बताउँछन् । धेरैजसो घरमा समयको अभावका कारण खिर छिटो तयार पार्ने प्रवृत्ति बढेको छ । सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्ने प्रवृत्ति बढ्दै जाँदा परम्परागत अभ्यास ओझेलमा पर्न थालेकोमा पुराना पुस्ता चिन्तित छन् ।
धेरै युवाहरू बजारका तयारी परिकारमा निर्भर हुन थालेका छन् भने सामूहिक जमघटको परम्परा पनि क्रमशः कमजोर बन्दै गएको उनीहरूको भनाइ छ । डेरीको दूधबाट बनाइएको खिरको मौलिक स्वाद अहिले हराउदै गएको बागलुङगबाट विगत दुई दशकदेखि तानसेनमा बस्दै आउनुभएका ८३ वर्षीय रोमबहादुर रायमाझी बताउँछन् । “गाउँमा गाईभैँसी पाल्न छोडिसके, बजारबाट दूध ल्याएर कुकरमा सिठ्ठी लगाएर बनाइएको खिरमा पहिलाको जस्तो स्वाद कहाँ पाउँनु रायमाझीले भने “दूध, दही र मोहीको ठाउँ कोक, डिउ र फ्यान्टाले लिए । हिजोआजका केटाकेटीलाई खिर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहै छैन ।”
साउन १५ मा खिर खाने चलन पुरानै रहेको माथागढीकी ८९ वर्षीया मनमाया जिसीले बताइन् । उनले भनिन् “साउनमा हरियो, परियो धेरै पाइने हुनाले गाई, भैसीले दुध बढी दिने हुँदा यो समयमा खिर खाने गरिएको हो ।” असार महिनामा रोपाँइ सकेपछि साउन १५ कृषकहरूले खिर खाने गर्छन् । यस प्रकारको खानेकुरा खानाले स्वास्थ्यमा लाभ हुने विश्वास छ । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो र पोषिलो खिर खाँदा सर्दिबाट जोगीने विश्वास छ । तर पछिल्लो समय गाउँघरमा गाई, भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खिरको मौलिक स्वाद भने हराउँदै गएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएको हो । वर्षको एकदिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खिर बनाएर खाने चलन अहिले बढेको छ ।
आज खिर खाएर साउन पन्ध्र मनाइँदै
नेपालीहरुले आज खिर खाएर साउन पन्ध्र मनाउँदै छन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन पन्ध्रमा खिर खाने गर्दछन् । वर्षाको झरीमा भिजिने भएकाले शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खिर खाने गरिएको ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ ।
परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ । ऋतु अनुसारप्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन छ ।
दूधमा चामल मिसाई पकाइएको खीरलाई स्वादिष्ट बनाउन मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाईको खीर शक्तिवद्र्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ । मानव शरीरलाई आवश्यक पोषकतत्व पूर्ति गर्न र बेला अनुसार आहारको आस्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन छ ।


