पाल्पा, नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । विज्ञान तथा प्रविधिको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, वैज्ञानिक सोचको विकास गर्ने तथा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो ।
देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रक्रियामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्न सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले २०७० देखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आइएको छ । दिवसका अवसरमा देशभरका विद्यालय, कलेज, विश्वविद्यालय तथा विभिन्न वैज्ञानिक एवं प्राविधिक संस्थाहरूले विज्ञान प्रदर्शनी, अन्तक्र्रिया, गोष्ठी, कार्यशाला तथा सचेतनामूलक कार्यक्रम आयोजना गर्ने भएका छन् । विज्ञान र प्रविधि दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको विकासलाई देशको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोडेर हेर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिँदै आएका छन् ।
उनीहरूले अनुसन्धानमा लगानी वृद्धि, वैज्ञानिक जनशक्तिको उत्पादन तथा प्रतिभाशाली युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । राष्ट्रिय विज्ञान दिवसले विद्यार्थी तथा युवामा वैज्ञानिक सोच, खोज तथा अनुसन्धानप्रतिको रुचि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । दिवसका अवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ । सरकारले विज्ञान तथा प्रविधिलाई विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै अनुसन्धान, नवप्रवर्तन र प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता विज्ञहरूले औँल्याएका छन् । विज्ञान दिवसलाई औपचारिक कार्यक्रममै सीमित नराखी वैज्ञानिक सोच र अनुसन्धान संस्कृतिको विकास गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा पनि उनीहरूको जोड छ ।


