Shittalpati
विश्वकर्मा पूजा आज, कलकारखाना तथा औजारको पूजाआजा गरिँदै

पाल्पा, निर्माण, उद्योग तथा विभिन्न प्राविधिक क्षेत्रमा प्रयोग हुने औजार र मेसिनरीका देवता मानिने भगवान् विश्वकर्माको पूजा आज नेपालभर श्रद्धापूर्वक मनाइँदैछ । विश्वकर्मा पूजाका अवसरमा कलकारखाना, वर्कसप, निर्माणस्थल, उद्योग तथा विभिन्न प्राविधिक क्षेत्रमा प्रयोग हुने मेसिन, औजार र उपकरणको विशेष पूजा तथा सरसफाइ गर्ने चलन छ । यस दिन काममा प्रयोग हुने औजार तथा उपकरणको पूजा गरेमा व्यवसायमा सफलता, प्रगति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

पूजाका लागि बिहानैदेखि उद्योग तथा वर्कसपहरूमा सरसफाइ गर्ने, मेसिन तथा औजार सजाउने र विशेष पूजाको तयारी गर्ने गरिएको छ । कतिपय स्थानमा विश्वकर्माको प्रतिमा वा तस्वीर स्थापना गरी विधिपूर्वक पूजा तथा प्रसाद वितरणसमेत गरिन्छ । विश्वकर्मा पूजाले श्रम, सीप, प्रविधि र उत्पादनसँग जोडिएका क्षेत्रको महत्त्वलाई समेत उजागर गर्ने गर्दछ । विशेषगरी मेकानिक्स, इन्जिनियरिङ, निर्माण, उद्योग तथा यातायात क्षेत्रमा आबद्ध व्यक्तिहरूले यस पर्वलाई विशेष महत्वका साथ मनाउने गरेका छन् । प्रत्येक वर्ष असोज १ गतेका दिन विश्वकर्मा पूजा  गर्ने गरिन्छ । आज बिहानैदेखि कलकारखानामा रङ्गीचङ्गी ध्वजापताका टाग्नुका साथै विशेष पूजा गर्न लागिएको छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलाई धोएर पूजाआजा गर्ने गर्द छन् ।

बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलाई पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाइएको छ । गाडी मर्मत संभार गर्ने ग्यारेजलगायत हरेक सानाठूला फयाक्ट्रीमा आज सामानको दिगोपन र मुनाफाको कामना गर्दै पूजा गर्ने गरिन्छ । पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन पनि छ । यस अवसरमा केहीले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । आज पूजा गरिएको मूर्तिलाई भोलि बिहान नजिकैको खोला वा नदीमा लगि बिसर्जन गरेपछि विश्विकर्मा पूजा समापन हुन्छ । धार्मिक मान्यताअनुसार भगवान् विश्वकर्मालाई वास्तुकला, निर्माणकला र शिल्पकलाका देवताका रूपमा पूजा गरिन्छ । त्यसैले आफ्नो पेशा तथा व्यवसायमा प्रयोग हुने औजार र उपकरणप्रति सम्मान प्रकट गर्ने दिनका रूपमा पनि विश्वकर्मा पूजा मनाउने गरिएको छ । विश्वकर्मा पूजाको अवसरमा विभिन्न उद्योग तथा व्यवसायमा कार्यरत श्रमिक र व्यवसायीहरूले सुख, शान्ति, समृद्धि तथा व्यवसायमा निरन्तर प्रगतिको कामना गरेका छन् । फलामको क्षेत्रमा काम गर्ने मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ । आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनविश्वास छ । विगतमा विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ विश्वकर्मा पूजा गरिने गरेकामा पछिल्ला केही वर्ष यता पहाडी जिल्लामा पनि यसको गरिमा र महत्व बढ्दै गएको छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुन्द्रको बीचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुन्द्रको बीचमा ‘भेदद्वार’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो । प्राचिन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ ।  विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । यही सम्झनामा कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गर्दछन् ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update