Shittalpati
महँगी नियन्त्रणमा गम्भीर बन

पछिल्ला दिनहरुमा महँगी अत्याधिक रुपमा बढेको छ । बजार मूल्य नियन्त्रणमा आउन नसकेका कारण उपभोक्ता वर्ग चिन्तित भएका छन् । खासगरी, खाद्यान्न र तरकारीको मूल्यमा भएको अप्रत्याशित वृद्धिले श्रमजीवी जनताको दैनिकीमा नकारात्मक प्रभाव परेको पाइएको छ । बजार अनुगमन गर्ने अख्तियार पाएका सम्बन्धित निकायले मूल्य नियन्त्रणतर्फ भने खासै चासो देखाएको पाइँदैन । बजारमा मल्य वृद्धि हुनु नै महँगी बढ्नु हो ।


अहिले बजारमा चामल, दाल, तेल, चिनी, तरकारी, अण्डादेखि खाना पकाउने ग्याससम्मकै मूल्य लगातार बढिरहेको छ । आम्दानीको स्रोत सापेक्षिक रुपमा स्थिर रहने र दैनिक उपभोग्य सामग्री एवं खाद्य सामग्रीको मूल्य निरन्तर बढ्दा आम मानिसको जीवनयापन कठिन बन्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि, बर्खा यामका कारण कृषि उत्पादन र ढुवानीमा परेको असर, बर्डफ्लुका कारण अण्डा उत्पादनमा आएको कमीलगायतका कारण मूल्यवृद्धि भएको व्यवसायीहरुले भन्दै आएका छन् । यी पक्षलाई पूर्णतः अस्वीकार गर्न सकिँदैन । तर यिनै कारण देखाएर बजारमा अस्वाभाविक मूल्यवृद्धि हुनु वा कृत्रिम अभाव सिर्जना हुनु भने स्वीकार्य हुन सक्दैन ।

सबैभन्दा चिन्ताजनक पक्ष भनेको सरकारी संयन्त्रको कमजोर उपस्थिति हो । सरकारी निर्देशन कागजमै सीमित हुनु, सम्बन्धित निकायको निरीक्षण फितलो हुनु र मूल्य नियन्त्रणका संयन्त्र निष्क्रिय देखिनुले बजारमा व्यवसायीको मनोमानीलाई थप प्रोत्साहन मिलेको छ । खाना पकाउने ग्यासको अवस्थाले सरकारी व्यवस्थापनको कमजोरीलाई झन् प्रस्ट पारेको छ । महँगीसँग जुधिरहेका बेला पछिल्ला दिनमा खाना पकाउने इन्धनको समेत अभाव भएपछि सर्वसाधारण उपभोक्तालाई असजिलो भएको छ । नेपालमा उत्पादन नहुने आयातित खाना पकाउने एलपी ग्यास सहज रूपमा नपाएर अहिले उपभोक्ता ठूलो मर्कामा परेका छन् ।

एकातिर आयातको मात्रा घटेको छैन तर बजारमा पनि सहज तवरले पाइएको छैन । यो जटिल अवस्थाको सडकदेखि सदनसम्म विषय उठे पनि सम्बन्धित निकाय  मौन छ । जति मूल्य बढाए पनि नियन्त्रण गर्ने कोही छैन भन्ने भ्रम पालेर व्यापारीहरुले मूल्यमा एकाधिकार कायम गरेका छन् । जसले गर्दा आम उपभोक्ताको भान्सा महँगी बन्न पुगेको छ । यसरी आम नागरिकको भान्सामा महँगी बढ्दै गएका बेला सरकार र सरोकारवाला निकाय मुकदर्शक भएर बस्न कदापि मिल्दैन । यसर्थ महँगी नियन्त्रणमा  तीनै तहका सरकार गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update