पदम न्यौपाने
पाल्पाको रानीघाटस्थित रानीमहल (रानीघाट दरवार) केवल एउटा प्रेमिल मनको कल्पनाले श्रृजित दरबार मात्र होइन । यो एउटा अविश्मरणिय र अभेद्य प्रेम, इतिहास, कला, वास्तुकला, धर्म, प्रकृति र नेपाली समाजको सांस्कृतिक स्मृतिलाई एकै ठाउँमा जोड्ने अनुपम सम्पदा हो । शालिग्राम शिलायुक्त कालीगण्डकी नदीको उत्तरवाहिनी किनारमा अवस्थित यो दरबार खड्गशमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको स्मृतिमा वि.स. १९५४ मा निर्माण गरेका हुन् । खड्गशमशेरद्धारा सम्झनायुक्त दरबार निर्माण भइसकेपछि दरवार क्षेत्रको बिचमा महादेव(शिव मन्दिर) र गंगामाई मन्दिरको समेत स्थापना गरि गुठी जग्गा लगायत सम्पतीको व्यवस्था गरिएको थियो । गूठी जग्गाको व्यवस्था गरिनुमा मन्दिरमा नित्यपूजा र पूजारीका लागि आवश्यक खर्च व्यवस्था, मन्दिर तथा दरवारको नियमित रेखदेख र शुरक्षा, मन्दिरको दर्शनका लागि आउने भक्तजनका लागि आवश्यक वास र खानपान(भण्डारा) एवं घाट गएकाहरुको लागि ओतको व्यवस्था प्रयोजनका लागि गूठीको भूमिका रहेको बताइन्छ ।
गूठी किन ?
गूठी जग्गा व्यवस्था नेपाली समाजमा धार्मिक प्रयोजनका लागि मात्र होइन, सामाजिक र सांस्कृतिक जीवनसँग जोडिएको परम्परागत भाव सहितको संस्था हो । रानीघाट क्षेत्रमा महादेव गुठीको स्थापना पनि दीगो व्यवस्था र निरन्तरताको रणनीति हो । अहिले यो निकै सामयिक र सान्र्दभिक बन्दै आएको छ । यदि पारदर्शी व्यवस्थापन, कानुनी र आधुनिक व्यवस्थापकीय प्रणालीसहित गुठीलाई संस्थागत गर्न सकियो भने यसले मन्दिर, पूजा–पर्व, धार्मिक अनुष्ठान, सम्पदा संरक्षण र स्थानीय सहभागिताबीच स्थायी सम्बन्ध स्थापित गर्न सक्छ । तर गुठीलाई केवल धार्मिक कर्मकाण्डमा सीमित राखिनु हुँदैन । यसको मुख्य उद्देश्य सम्पदा संरक्षण, धार्मिक परम्पराको निरन्तरता, गुठी सम्पत्तिको संरक्षण, आय–व्ययको पारदर्शिता र स्थानीय हितसँग जोडिनुपर्छ । गुठी सम्पत्तिको डिजिटल अभिलेख, नियमित लेखापरीक्षण र प्रतिवेदन सार्वजनिक आवश्यक हुन्छ । यसले सम्पदालाई विश्वास योग्य मात्र होइन, आर्थिक आधार पनि प्रदान गर्छ । तानपा १३ मा पर्ने यो रानीघाटको दरबारलाई नेपाल पर्यटन बोर्डले समेत पाल्पाको प्रमुख आकर्षणका रूपमा उल्लेख गरेको छ । तर यसको महत्व केवल पर्यटन गन्तव्यमा मात्र सीमित छैन; यो सम्पदा संरक्षण, धार्मिक परम्परा, स्थानीय अर्थतन्त्र र सांस्कृतिक पहिचानसँग जोडिएको बहुआयामिक सम्भावनाको केन्द्र हो । गूठी व्यवस्थापन भनेको महादेव मन्दिरमा नित्यपूजा सूचारु गर्नु र सम्पतीको व्यवस्थापन मात्र होइन,रानीमहललाई संरक्षण गर्नु पनि हो । संरक्षण भनेको केवल दरबारको भौतिक संरचना जोगाउनु मात्र होइन; यससँग जोडिएका कथा, स्मृति, संस्कार, परम्परा र सामाजिक सम्बन्धलाई पनि जीवित राख्नु हो ।
यसर्थ यो ऐतिहासिक र सांस्कृतिक मूल्यसंग पनि सम्वन्धित छ । नेपालका अन्य दरबार, मन्दिर र सम्पदाको संरक्षणका अनुभवले देखाउँछ कि संरक्षणमा भौतिक संरचना मात्र होइन, त्यससँग जोडिएको सांस्कृतिक कथा पनि प्रस्तुत गरिन्छ, यसबाट सम्पदाको मूल्य अझै बढ्छ । रानीमहलको कथा प्रेम र स्मृतिसँग जोडिएको छ । खड्गशमशेरले आफ्नी रानीको निधनपछि यो दरबार निर्माण गरेर प्रेमलाई वास्तुकलामा रूपान्तरण गरेका थिए । यसैले धेरैले रानीमहललाई “नेपालको ताजमहल” पनि भन्ने गर्दछन् । यस्ता कथाहरुले पर्यटकलाई भावनात्मक रूपमा आकर्षित गर्ने शक्ति राख्दछन् । सम्पदा संरक्षणलाई वैज्ञानिक दृष्टिकोणबाट हेर्दा रानीमहल र रानीघाट क्षेत्रलाई एकीकृत र सम्पदा संरक्षण योजना अन्तर्गत अघि बढाउन सकिने प्रशस्त आधारहरु भेटाउन सकिन्छ । यस कार्यमा महादेव गूठीका नाममा जिल्लाका विभिन्न स्थानहरुमा (रानीघाट क्षेत्र, खानीगांउ,मदनपोखरा, बल्ढेगंगढी,अर्गली लगायत) राखिएको दुई सय बढी रोपनी गूठी जग्गाको व्यवस्था गरिनु पनि विशेष रणनीति भएको अनुमान लगाउन सकिन्छ । यसको विविध पक्षको खोज, अध्ययन ,अनुसन्धान र गुरु योजना निर्माण गर्ने कार्य र गूठी सम्पती व्यवस्थापनका लागि गूठी व्यवस्थापन समिति गठन गरिनु जरुरी देखिन्छ ।
चर्चा र वास्तविकता :
आज रानीमहलको चर्चा मुख्यतः पर्यटन गन्तव्यका रूपमा हुन्छ । तर यसको वास्तविक सम्भावना त्यसभन्दा धेरै व्यापक छ । रानीमहलको संरक्षण, त्यससँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक परम्पराको पुनर्जागरण, महादेव गुठी समितिको गठन तथा सम्पति व्यवस्थापन, मन्दिरका गुठी जग्गा र सम्पत्तिको संरक्षण, रानीघाट दरबार तथा परिसरको वैज्ञानिक पुनःस्थापना र स्थानीय समुदायको सक्रिय सहभागितालाई एकीकृत गर्न सकियो भने पाल्पामा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, वास्तुकला, प्रकृति, नदी, ग्रामीण, अध्ययन–अनुसन्धान, आध्यात्मिक र अनुभव र खेलमा आधारित पर्यटनको नयाँ अध्याय सुरु गर्न सकिन्छ ।
संरक्षण के को ?
रानीमहलको संरक्षणको पहिलो आधार यसको इतिहास र मौलिकता हो । ऐतिहासिक सम्पदा संरक्षण भनेको पुरानो भवनको भौतिक संरचना जोगाउनु मात्र होइन; त्यससँग जोडिएको कथा, स्मृति, संस्कार, परम्परा र सामाजिक सम्बन्धलाई पनि जीवित राख्नु हो । नेपालको सम्पदा संरक्षणका अनुभवले पनि दरबार, मन्दिर, कलाकृति र ऐतिहासिक संरचनालाई संरक्षणसँगै व्याख्या र सार्वजनिक अनुभवसँग जोड्दा तिनको सांस्कृतिक मूल्य अझ प्रभावकारी ढंगले स्टोरी टेलिङलाइ सशक्त रुपबाट प्रस्तुत गर्न सकिने देखाउँछन् । विशेषगरी मन्दिरको गुठी जग्गा र सम्पत्तिलाई सम्पदाको आर्थिक आधारका रूपमा हेर्ने गरिन्छ । यसको अर्थ गुठी सम्पत्ति बेच्ने वा अनियन्त्रित रूपमा व्यावसायिक प्रयोग गर्ने भन्ने होइन, बरु कानुनअनुसार त्यसबाट प्राप्त हुने आम्दानीलाई मन्दिर, पूजा–परम्परा, दरबार संरक्षण, सांस्कृतिक कार्यक्रम, सरसफाइ र स्थानीय हितमा पुनःलगानी गर्ने व्यवस्था बनाउनु हो ।
गूठी व्यवस्थापन समिति किन ?
पहिलो पटक गठन गर्न लागिएको महादेव गुठी व्यवस्थापन समितिको माध्यमबाट सो क्षेत्रलाई हेरिने दृष्टिकोणमा पुनर्संरचना गर्न सकिन्छ, जुन अत्यन्त महत्वपूर्ण हुन सक्छ । यसर्थ गुठीलाई नेपाली समाजको धार्मिक मात्र होइन, सामाजिक र सांस्कृतिक जीवनसँग जोडिएको परम्परागत संस्थाको रुपमा हेर्न थालिएको हो । गूठी व्यवस्थापन समितिको भूमिका रानीघाट दरबारको मूल वास्तुशैली, निर्माण सामग्री, शिल्पकला र ऐतिहासिक स्वरूपलाई वैज्ञानिक अध्ययन गरी संरक्षण गर्ने कार्यमा सशक्त रहन्छ । सो क्षेत्रमा नयाँ संरचना निर्माण गर्दा पुरानो सम्पदाको सौन्दर्य र मौलिकतामा असर नपर्ने गरी निश्चित मापदण्ड निर्धारण गर्ने कार्यमा सो समितिले योगदान गर्नुपर्छ । दरबार वरपरको प्राकृतिक भू–दृश्य, कालीगण्डकी नदीको किनार, उत्तरवाहिनी क्षेत्रको महत्व, पदमार्ग र पुराना सांस्कृतिक संरचनालाई सम्पदा क्षेत्रकै अभिन्न अंगका रूपमा संरक्षण गर्न सक्छ । यसरी संरक्षण गरिएको रानीमहललाई केवल घुम्ने ठाउँ नभई अध्ययन, अनुसन्धान र सांस्कृतिक अनुभवको केन्द्र पनि बनाउन सकिन्छ ।
योगदान के हुन सक्छ ?
यो क्षेत्र पर्यटन विकासका सम्भावनाका आधारहरुमा धार्मिक, आध्यात्मिक तथा ऐतिहासिक पर्यटन प्रमुख हुन सक्छन् । यहाँ आउने पर्यटकले दरबार हेरेर मात्र फर्किने होइन, त्यहाँको इतिहास, खड्गशमशेर र रानीसँग जोडिएको कथा, नयाँ प्रेमिल जोडीले गर्ने कल्पना, तत्कालीन राजनीतिक तथा सामाजिक परिवेश र वास्तुकलाबारे विश्वसनीय जानकारी प्राप्त गर्ने व्यवस्था पनि हो । तत्कालिन अवस्थाको चित्रण गर्ने संग्रहालय, डिजिटल अभिलेख, सूचना केन्द्र, बहुभाषिक व्याख्या सामग्री र प्रशिक्षित स्थानीय गाइडको व्यवस्था गर्न अब जरुरी भैसकको छ । वास्तुकला तथा कला पर्यटनका लागि रानीमहलको निर्माणशैली, दरबारका झ्याल–ढोका, स्तम्भ, सजावट र अन्य कलात्मक पक्षको अध्ययन गर्न विद्यार्थी र अनुसन्धानकर्तालाई आकर्षित गर्न सकिन्छ । यसले रानीमहललाई जीवित प्रयोगशालामा रूपान्तरण गर्न सक्छ । प्रकृति र नदी पर्यटनमा कालीगण्डकी नदीको प्राकृतिक उपस्थितिले यहाँ नदी तथा प्रकृति पर्यटनको सम्भावना खोल्ने हुनाले यस्को विकास वातावरणमैत्री,नदी प्रदूषण,अनियन्त्रित निर्माण, प्लास्टिकजन्य फोहोर र अत्यधिक भीड नियन्त्रणको व्यवस्थापन जरुरी हुनाले सो कार्यमा समितिले समेत कार्य गर्न जरुरी हुन्छ । धार्मिक तथा आध्यात्मिक पर्यटनमा महादेव मन्दिर तथा गंगामाई संस्कृतिको र अन्य धार्मिक परम्परालाई समेत व्यवस्थित रूपमा संरक्षण गर्न सकिएमा धार्मिक र आध्यात्मिक पर्यटनको विकास गर्न सकिन्छ ।
गूठी व्यवस्थापन समितिले धार्मिक पर्व, महाशिवरात्रि, विशेष पूजा तथा सांस्कृतिक अनुष्ठानलाई स्थानीय समुदायको सहभागितामा सञ्चालन गर्न सकिन्छ । यसका साथै ग्रामीण तथा सांस्कृतिक पर्यटनमा योगदान गर्ने स्थानीय घरबास, परम्परागत खानाका परिकार, हस्तकला, स्थानीय उत्पादन, लोकसंगीत र सांस्कृतिक प्रस्तुति पर्यटक अनुभवको हिस्सा बन्न सक्छन् । पाल्पाको तानसेन आफैँमा पुरानो बजार, यहाँको सांस्कृतिक वातावरण र परम्परागत हस्तकलाका कारण आकर्षक गन्तव्य हो । रानीमहललाई तानसेन र पाल्पाका अन्य गन्तव्यसँग जोडेर एकीकृत पर्यटन सर्किट बनाउन सकिन्छ । यसकालागि समन्वय, सहकार्य र व्यवस्थापनका पक्षमा गूठीको योगदान र भूमिका रहन सक्छ । यसका लागि सरकार, स्थानीय तह, पुरातत्व तथा सम्पदा संरक्षण निकाय, गुठी संस्थान, स्थानीय समुदाय, निजी क्षेत्र र पर्यटन व्यवसायीबीच सहकार्यको वातावरण मिलाउन आवश्यक हुन्छ । तर, सम्पदा संरक्षणको नेतृत्व राज्यले लिनुपर्छ तर धार्मिक परम्पराको निरन्तरता समुदायले सुनिश्चित गर्नुपर्छ । यस्ता व्यवस्थापनमा गुठीले पारदर्शी भूमिका खेल्नुपर्छ । पर्यटन प्रवद्र्धनमा निजी क्षेत्र सक्रिय हुनुपर्छ । निगरानीमा नागरिक समाजले योगदान दिनुपर्छ ।
निष्कर्षमा,रानीमहलको संरक्षणलाई केवल एउटा दरबार बचाउने र गूठी व्यवस्थापन समिति गठन गर्ने अभियानका रूपमा मात्र हेर्नु हुँदैन । यो इतिहास बचाउने, संस्कृति जोगाउने, गुठी परम्परालाई व्यवस्थित गर्ने, धार्मिक आस्थालाई निरन्तरता दिने, स्थानीय अर्थतन्त्र बलियो बनाउने र नयाँ पुस्तालाई आफ्नो अतितसँग जोड्ने अभियान हो । यसबाट इतिहास पर्यटनले ज्ञान दिनेछ, धार्मिक पर्यटनले आस्था जोड्नेछ, सांस्कृतिक पर्यटनले पहिचान बचाउनेछ, त्यसैगरी वास्तुकला पर्यटनले सिर्जनशीलता उजागर गर्नेछ, प्रकृति पर्यटनले वातावरणसँग जोड्नेछ, नदी पर्यटनले नयाँ अनुभव दिनेछ, ग्रामीण पर्यटनले स्थानीय जीवनसँग परिचय गराउनेछ र अध्ययन–अनुसन्धान पर्यटनले ज्ञानको नयाँ ढोका खोल्नेछ ।
यति मात्र होइन , नेपाल पर्यटन बोर्डले त आफ्नो २०२२ को प्रकाशनमा पहाडी स्थान मध्ये रानीघाट स्थित कालिगण्डकी किनारलाई बीच भलिवल खेलको सम्भावना उच्च रहेको उल्लेख गरिसकेको छ । साथै, प्रेम पर्यटनको त अहिले प्रमुख आकर्षणनै बनेको छ । अन्तत, रानीमहलको संरक्षण प्रेमको स्मृति, इतिहासको साक्षी, धर्मको आस्था, संस्कृतिको निरन्तरता, प्रकृतिको सौन्दर्य र स्थानीय समृद्धिको सम्भावनालाई एउटै सूत्रमा बाँध्ने अभियान हो । योजनावद्ध संरक्षण र बहुआयामिक पर्यटन विकासमार्फत रानीमहल पाल्पाको मात्र होइन, नेपालको सांस्कृतिक पर्यटनको विशिष्ट राष्ट्रिय प्रतिक बन्न सक्छ ।

