विदुर घिमिरे
मानिसलाई चिनाउने पहिलो परिचय उसको अनुहार होइन, उसको भाषा हो । शब्द केवल ध्वनि होइनन्; ती विचारका प्रतिनिधि, संस्कारका परिचायक र चरित्रका ऐना हुन् । त्यसैले कसैले कुन शब्द प्रयोग गर्छ भन्ने कुरा उसले कस्तो समाज निर्माण गर्न चाहन्छ भन्ने प्रश्नसँग पनि जोडिएको हुन्छ । दुःखको कुरा, आज हाम्रो समाजमा असहमतिलाई सम्मान गर्ने संस्कृतिभन्दा असहमतिलाई गाली गर्ने संस्कृतिले विस्तारै ठाउँ बनाइरहेको छ । तर्कको ठाउँमा तुच्छ शब्द, विचारको ठाउँमा व्यंग्य र संवादको ठाउँमा अपमानजनक सम्बोधनले स्थान लिन थालेको छ । कसैले फरक मत राख्यो भने “खाते”, “महाखाते” जस्ता शब्दले होच्याउने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यो केवल भाषाको विकृति होइन, लोकतान्त्रिक संस्कृतिमाथिको प्रहार पनि हो ।
अहंकारको सबैभन्दा ठूलो विशेषता के हो भने त्यसले मानिसलाई आफ्नो उचाइभन्दा अग्लो देखिएको भ्रम दिन्छ । तर त्यो भ्रम धेरै समय टिक्दैन् । इतिहासले बारम्बार देखाएको छ—अहंकारले कहिल्यै सम्मान कमाएको छैन; त्यसले केवल एक्लोपन, विरोध र अन्ततः पतनको बाटो बनाएको छ । आफूलाई मात्र जान्ने, आफूलाई मात्र योग्य ठान्ने र आफूबाहेक सबैलाई अयोग्य देख्ने मानसिकता कुनै आत्मविश्वासको चिन्ह होइन । त्यो त आफ्नै असुरक्षा लुकाउने एउटा असफल प्रयास मात्र हो । किनभने आत्मविश्वासी मानिसले आफ्नो परिचय आफ्ना कामबाट दिन्छ, शब्दको आक्रामकताबाट होइन । जसको व्यक्तित्व बलियो हुन्छ, उसलाई आफ्नो सम्मान जोगाउन अरूको अपमान गर्नुपर्दैन । धेरैले “खाते” र “महाखाते” शब्दको अर्थबारे जिज्ञासा राख्नुभएको छ । स्थापित नेपाली शब्दकोशमा “खाते” भन्ने शब्दको स्वतन्त्र अर्थ पाइँदैन । व्यवहारमा भने यो कुनै विशेष नकारात्मक बानी वा प्रवृत्तिमा लागेको व्यक्तिलाई जनाउन प्रयोग हुन्छ । त्यसैले रक्सीखाते, घुसखाते, पैसाखाते, घमण्डखाते, पदखाते, बैगुनीखाते जस्ता शब्दहरू सुनिन्छन् । यी सबैमा एउटा समानता छ—कुनै न कुनै नकारात्मक आचरणसँग व्यक्तिलाई जोड्ने प्रयास ।“महा” उपसर्ग जोडिएपछि त्यसको अर्थ झन् तीव्र हुन्छ । त्यसैले “महाखाते” भन्नाले त्यही नकारात्मक प्रवृत्तिमा अत्यधिक डुबेको व्यक्ति भन्ने बुझिन्छ । तर जब कुनै व्यक्तिले असहमति राख्ने सबैलाई “खाते” वा “महाखाते” भन्न थाल्छ, तब प्रश्न अरूको होइन, बोल्ने व्यक्तिको चरित्रमाथि उठ्न थाल्छ । वास्तविक प्रश्न यो हो—कसैलाई “खाते” भनेर बोल्दैमा बोल्ने व्यक्ति सम्मानित हुन्छ त ? कदापि हुँदैन । बरु त्यसले एउटा गम्भीर सन्देश दिन्छ—तर्क सकिएको छ, संयम हराएको छ र सहिष्णुता समाप्त हुँदै गएको छ । जहाँ तर्क
समाप्त हुन्छ, त्यहाँ गालीको जन्म हुन्छ । जहाँ विवेक कमजोर हुन्छ, त्यहाँ अहंकारले शासन गर्न थाल्छ । समाजमा पद, पैसा, पहुँच वा लोकप्रियता कसैको स्थायी सम्पत्ति होइन । इतिहासमा अनेक शक्तिशाली मानिसहरू समयको प्रवाहसँगै सामान्य पात्र बनेका छन् । तर उनीहरूले बोलेका शब्द भने इतिहासले सम्झिरहन्छ । त्यसैले पदभन्दा ठूलो संस्कार हो, शक्तिभन्दा ठूलो विनम्रता हो र प्रभावभन्दा ठूलो चरित्र हो । सबैभन्दा दुःखद पक्ष त त्यतिबेला देखिन्छ, जब अरूलाई “खाते” भन्ने मानिस आफैं घमण्ड, अवसरवाद, कृतघ्नता, पदको दुरुपयोग, असहिष्णुता वा नैतिक कमजोरीबाट मुक्त हुँदैन । त्यतिबेला गाली अरूको होइन, आफ्नै चरित्रको परिचय बन्न पुग्छ । लोकतन्त्रमा फरक मत राख्नु अपराध होइन; बरु लोकतन्त्रको प्राण हो । आलोचनालाई गालीले होइन, तर्कले जवाफ दिनुपर्छ । प्रश्नको उत्तर अपमानले होइन, प्रमाणले दिनुपर्छ । असहमतिलाई शत्रुता ठान्ने समाज कहिल्यै सभ्य समाज बन्न सक्दैन । आज आवश्यक कुरा अरूलाई “खाते” प्रमाणित गर्नु होइन, आफू कति संस्कारी, सहिष्णु र जिम्मेवार छौँ भन्ने प्रमाणित गर्नु हो । किनभने समाजमा मानिसको उचाइ उसले अरूलाई कति सानो देखायो भन्ने आधारमा होइन, आफू कति ठूलो सोच्न सक्यो भन्ने आधारमा मापन हुन्छ ।
आजको सामाजिक सञ्जाल र तीव्र प्रतिस्पर्धाको युगमा शब्दको प्रयोग झन् संवेदनशील विषय बनेको छ । आवेगमा लेखिएका वा बोलिएका शब्दहरूले सम्बन्ध बिगार्न, विवाद बढाउन र समाजमा नकारात्मक प्रभाव पार्न सक्छन् । त्यसैले बोल्नु वा लेख्नु अघि एकछिन सोच्ने बानीले धेरै समस्या टार्न सक्छ । विनम्र शब्दले व्यक्तित्वलाई उचाइ दिन्छ भने अहंकारी शब्दले सम्मानलाई घटाउँछ । अन्ततः, मानिसको वास्तविक सुन्दरता उसको अनुहारमा होइन, उसको चरित्रमा हुन्छ, र त्यो चरित्रको स्पष्ट प्रतिबिम्ब उसका शब्दहरूमा देखिन्छ । त्यसैले हामीले शब्दलाई अहंकारको हतियार होइन, प्रेम, सम्मान र सद्भाव फैलाउने माध्यम बनाउनुपर्छ । जब शब्दमा विनम्रता र चरित्रमा इमानदारी हुन्छ, तब मानिस केवल सफल मात्र होइन, सम्मानित पनि बन्छ । तसर्थ शब्द छानौँ, संस्कार जोगाऔँ, असहमतिलाई सम्मान गरौँ । किनकि सभ्य समाज गालीले होइन, विचारले निर्माण हुन्छ ।

