Shittalpati
स्तनपानबारे सचेतना आवश्यक

आमाको दूध शिशुको पहिलो, पूर्ण र सबैभन्दा सुरक्षित आहार हो । जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्नु र जीवनको पहिलो छ महिनासम्म केवल आमाको दूध मात्र खुवाउनु शिशुको स्वस्थ विकासका लागि अत्यन्त आवश्यक मानिन्छ । तर पछिल्ला वर्षहरूमा भने पूर्ण स्तनपान गराउने आमाहरूको संख्या अपेक्षाअनुसार बढ्न सकेको छैन् । अझ अचम्म त के छ भने, विद्यालय तथा विश्वविद्यालयको उच्च शिक्षा हासिल गरेका, स्वास्थ्यसम्बन्धी जानकारीमा पहुँच भएका धेरै आमाहरू नै पूर्ण स्तनपानबाट टाढिँदै गएका छन् । 

यो अत्यन्तै दुःखद् हो । स्तनपान शिशुको जीवनरक्षाका लागि सबैभन्दा सरल, प्राकृतिक र प्रभावकारी उपाय हो । आमाको दूधमा शिशुलाई आवश्यक सम्पूर्ण पोषण, रोगप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टिबडी’ र मानसिक तथा शारीरिक विकासका लागि चाहिने तत्व पाइन्छ । आमाको स्वास्थ्यका दृष्टिले पनि यसले प्रसूति पछिको रक्तस्राव कम गर्न, शरीरलाई छिटो सामान्य अवस्थामा फर्काउन तथा केही प्रकारका क्यान्सरको जोखिम घटाउन सहयोग पु¥याउँछ । यद्यपि, धेरै आमाहरूले स्तनपानसम्बन्धी सही जानकारी नपाउनु, कार्यस्थलमा स्तनपानमैत्री वातावरणको अभाव हुनु, परिवार तथा समाजबाट पर्याप्त सहयोग नपाउनुजस्ता समस्याको सामना गरिरहेका छन् । कतिपय स्थानमा स्तनपानको सट्टा कृत्रिम दूध प्रयोग गर्नुपर्छ भन्ने गलत धारणा पनि अझै कायम छ ।  अर्कोतर्फ जागिरको व्यस्तता, छोटो प्रसूति बिदा, शरीरको सौन्दर्य बिग्रने चिन्ता, सामाजिक सञ्जालको प्रभावले पनि पूर्ण स्तनपानमा असर गरिरहेको छ ।

शरीरको सौन्दर्य बिग्रिन्छ भन्ने भ्रम र कार्य शरीरलाई फिट्नेस र सौन्दर्य राख्ने सौखिन महिलाहरूले आफ्ना बच्चालाई पूर्ण स्तनपान गराउने मामिलामा कमजोर देखिन्छन् । तर चिकित्सकहरू भने बच्चालाई दूध चुसाउँदैमा शरीर नबिग्रने बताउँछन् । त्यसैले यस्ता भ्रम हटाउन व्यापक जनचेतना आवश्यक छ । सरकार, स्वास्थ्य संस्था, सञ्चारमाध्यम, विद्यालय तथा समुदाय सबैले स्तनपानको महत्वबारे नियमित रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्वास्थ्यकर्मीहरूले गर्भावस्थादेखि नै आमाहरूलाई उचित परामर्श दिनुपर्छ । साथै, कार्यरत आमाहरूका लागि पर्याप्त प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल र शिशुलाई स्तनपान गराउने अनुकूल वातावरण सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ ।स्वस्थ समाज निर्माणको आधार स्वस्थ बालबालिका हुन्, र स्वस्थ बालबालिकाको जग भनेको सुरक्षित तथा प्रभावकारी स्तनपान हो । त्यसैले स्तनपानलाई व्यक्तिगत जिम्मेवारी मात्र नभई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण विषयका रूपमा लिनुपर्छ । जबसम्म स्तनपानलाई जीवनको दिगो सुरूवातका रुपमा व्यवहारमा उतार्न सकिँदैन तबसम्म बालबालिकाको स्वास्थ्य र भविष्य सुरक्षित हुन सक्दैन । त्यसैले, स्तनपानलाई सबैले सम्मान र समर्थन गर्ने वातावरण निर्माण गरी सचेतना अभिवृद्धि गर्नु जरूरी देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update