Shittalpati
गुल्मीमा ‘विज्ञता चक्र’ सम्बन्धी राष्ट्रिय गोष्ठी

गुल्मी, (तम्घास), गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा विज्ञता चक्र अभ्यासको प्रभावकारिता सम्बन्धी राष्ट्रिय गोष्ठी भएको छ । शिक्षण सिकाइको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘खोज–प्रमाण–विज्ञता’ अवधारणामा आधारित विज्ञता चक्र अभ्यासको प्रभावकारिता सम्बन्धी तीनदिने राष्ट्रिय गोष्ठी भएको हो ।
    
गोष्ठीमा नेपालका १० जिल्लाका ४५ विद्यालयबाट एक सयभन्दा बढी प्रधानाध्यापक, शिक्षक तथा एक दर्जन विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा तीन जना प्रधानाध्यापक, तीन जना शिक्षक र १० जना विद्यार्थीले विद्यालयमा लागू गरिएका नवीन अभ्यास, अनुसन्धान र सिकाइ अनुभव प्रस्तुत गरेका थिए । काठमाडौँको प्रज्ञा कुञ्ज विद्यालयकी प्रिन्सिपल सुनिता पौडेल, कास्कीको माछापुच्छ्रे माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्य तथा सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोर बिक्रम श्रीसले शिक्षकको पेशागत विकास र विद्यालयका सफल अभ्यासबारे प्रस्तुति दिएका थिए । उनीहरूले विद्यालयमै तालिम तथा कार्यशाला सञ्चालन, स्व–निर्देशित सिकाइ, तालिमपछि अनुभव आदानप्रदान, नियमित समीक्षा, जिम्मेवारी बाँडफाँड, संस्थागत संरचना विकास तथा शिक्षामूलक अभियानमा सक्रिय सहभागिताले शिक्षण सिकाइमा सकारात्मक परिवर्तन आएको अनुभव सुनाए ।

त्यसैगरी सिद्धबाबा माध्यमिक विद्यालयकी शिक्षिका कमला महत, माछापुच्छ्रे माध्यमिक विद्यालयका शिक्षक लोकनाथ आचार्य तथा प्रज्ञा कुञ्जका शिक्षक आशिष घिमिरेले विद्यार्थीमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, त्यसको प्रभाव, चुनौती र शिक्षकले अपनाउनुपर्ने नयाँ अभ्यासबारे अनुसन्धानमा आधारित प्रस्तुति दिएका थिए । पाँच वर्षअघि माछापुच्छ्रे माध्यमिक विद्यालयबाट सुरु भएको ‘विज्ञता चक्र’ अभियानअन्तर्गत विद्यार्थी पठन क्लबमार्फत विकसित सिकाइ संस्कृतिका उपलब्धिबारे पनि विद्यार्थीहरूले आफ्ना अनुभव सुनाएका थिए । सिद्धबाबा माध्यमिक विद्यालय, माछापुच्छ्रे माध्यमिक विद्यालय, काठमाडौँ ज्ञानपुञ्ज तथा अमेरिकाको न्यू फिल्ड हाईस्कुलका विद्यार्थीहरूले पठन संस्कृतिले ज्ञानसँगै भाषिक क्षमता, सिर्जनशीलता, नेतृत्व, प्रस्तुतीकरण कला र आत्मविश्वासमा उल्लेखनीय विकास भएको बताएका थिए ।

गोष्ठीमा सहभागीहरूलाई आफ्ना विद्यालयका प्रभावकारी अभ्यास पहिचान गर्ने, तिनका प्रमाण संकलन गर्ने तथा सहकर्मीबीच अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरिएको थियो । कार्यक्रममा न्यूयोर्क स्टेट युनिभर्सिटीका प्राध्यापक डा. श्याम शर्माले ‘विज्ञता चक्र’का पाँच आधार—अध्ययन, अभ्यास, अन्तर, अन्तरक्रिया र अभिलेखीकरण—बारे विस्तृत प्रशिक्षण दिएका थिए । गोष्ठीका क्रममा उत्कृष्ट अभ्यास प्रस्तुत गरेबापत रुपन्देहीको शान्ति नमुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक धर्मगत शर्मा, पाल्पाको मोहन कन्या माध्यमिक विद्यालयका शिक्षक गोपालप्रसाद वस्याल तथा सिद्धबाबा माध्यमिक विद्यालयका शिक्षिका कमला महत सम्मानित भएका थिए । कार्यक्रमको उद्घाटन रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गरेका थिए भने समापन समारोहमा शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । नगर प्रमुख पन्थी, कार्यक्रमका अध्यक्ष निरञ्जन थापा र प्रधानाध्यापक डोर बिक्रम श्रीसले अतिथि तथा सम्मानित व्यक्तित्वलाई मायाको चिनो प्रदान गरेका थिए । यस अवसरमा प्राध्यापक डा. श्याम शर्माले सिद्धबाबा माध्यमिक विद्यालयमा ८० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका थिए ।

गोष्ठीको व्यवस्थापन सिद्धबाबा माध्यमिक विद्यालयले गरेको थियो । सहभागीहरूलाई रेसुङ्गा तपोवनको अवलोकन गराइएको थियो, जहाँ रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश भुसालले क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी गराएका थिए । गोष्ठीको पहिलो दिन नेल्टा गुल्मीको पहलमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा डा. शर्माले नेल्टासँगको आफ्नो अनुभव साझा गर्दै शिक्षक प्रशिक्षण र लेखन प्रवद्र्धनमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । नेल्टा लुम्बिनी प्रदेश अध्यक्ष गोपालप्रसाद वस्याल र प्रदेश सदस्य यज्ञ गौतमले अंग्रेजी भाषा शिक्षण र शिक्षकको पेशागत क्षमता विकासका विषयमा  आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update