Shittalpati
गोपालमान श्रेष्ठको निधनमा पाल्पामा काँग्रेसद्वारा शोकसभा

पाल्पा, पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेस पाल्पाले शोकसभा गरेको छ । जिल्ला कार्यसमितिको आयोजनामा भएको शोकसभामा जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको राजनीतिक योगदानको स्मरण गरेका थिए ।

वक्ताहरूले लोकतन्त्रको स्थापना, पार्टी संगठनको सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा गोपालमान श्रेष्ठले पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताएका थिए । नेपालीका काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले स्वं.गोपालमानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै योगदानको चर्चा गरेका थिए ।

उनले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएर श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा पुर्‍याएको नेतृत्वदायी भूमिका तथा राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा पुर्‍याएको योगदान सधै स्मरणीय रहिरहने बताए । श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुग्नुका साथै मुलुकले निर्भिक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी व्यक्ति गुमाएको आफूले महसुस गरेको  सभापति श्रेष्ठले बताए ।

शोकसभामा एक मिनेट मौनधारण गरी दिवंगत नेताको आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष विष्णु भण्डारी, नेकपा एमालेका पूर्व अध्यक्ष धनेन्द्र घिमिरे, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज यादवबहादुर  रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुल बहादुर कुंवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना लगायत काँग्रेसका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, पूर्वपदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरूले स्वर्गीय श्रेष्ठको राजनीतिक आदर्श, लोकतान्त्रिक मूल्य–मान्यता र जनताप्रतिको समर्पणबाट प्रेरणा लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।  काँग्रेसले श्रेष्ठको  निधनमा  ३ दिन  पार्टीको झण्डा आधा झुकाएको थियो । श्रेष्ठको ७९ वर्षको उमेरमा ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा गत मंगलबार निधन भएको थियो । शोक सभा कार्यक्रम पार्टी सचिव सुनिता अधिकारीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update