Shittalpati
साहित्यिक यात्रा

रोहितप्रसाद ज्ञवाली
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा यही ०८० पौष २७ र २८ गतेको साहित्यिक यात्रा अड्तीस घण्टामा पुरा गरी आफ्नो गन्तब्य स्थानमा फर्किएको छ । साहित्यिक यात्रा कास्कीको पोखरा, घान्द्रुक र पर्वत, म्याग्दी र बागलुङ्गको बाग्लुङ्गमा कालिका भगवती दर्शन गर्न पुगेको थियो । यसै विच पर्ने घान्द्रुकको शिरानमा दरबार तथा मौलाकालिको दर्शन । अनि घान्द्रुक स्टेशन देखी शिरानमा उक्त मन्दिर स्थानबाट घान्द्रुकको आकर्षक हिमाली लहरको दृष्यले मानवीय भावनालाई द्रविभूत पार्दछ । त्यहाँबाट अन्नपूर्ण, गंगाचुली, हिमचुली, माछापुच्छूे हिमाल देखिने गर्दछन् । तर पहिले पहिलेका तस्वीरमा र बयानमा जस्तो भरिपूर्ण हिऊले ढाकिएको भने देख्न दुर्लभ हुने गएको छ । जसको कारण मानवीय शक्ति प्रदर्शन युक्त गतिविधिले पर्यावरणीय प्रतिकुलन अवस्था सिर्जना हुँदै गएको पनि देखिन्छ । कुस्मा पर्वतको बञ्जीजम्प क्रिडास्थल, म्याग्दी बजार नजिकै रहेको गलेश्वर महादेवको र चक्रशिला धामको  समेत अवलोकन  गरियो । बाग्लुङ्ग कालिका मन्दिर आइपुग्दासम्म २ः०० बजिसकेको थियो तत्पश्च्यात दर्शन अवलोकन गरी त्यहाँबाट ३ः०० बजे कालिगण्डकी करिडोर अन्तर्गत बाग्लुङ्ग बलेवा हवाईग्राउण्ड क्षेत्र हुँदै कालिगण्डकीको उत्तरीपखेरा भएर गुल्मीको अर्वेनी, पूर्तिघाट हुँदै पूनः मिर्मी, जिरो किलोमिटरतर्फ मोडियौं । राम्दीघाट हुँदै तानसेन शित्तलपाटी प्रस्थान विन्दु फर्कियौं । यो थियो हाम्रो धार्मिक तथा पर्यटकीय अवलोकनको विवरण । यस भ्रमणमा केही साहित्यिक गतिविधि पनि भए । जुन यस प्रकार रहेको छ । 
  

स्याङ्गजाको वालिङ्गमा नेचुरल भ्यू टावर भवनमा शिशमहल क्याविनबाट वालिङ्ग बजार सहितको मनमोहक दृश्य अवलोकन भयो । यसका प्रोपराइटर साहित्यकार शम्भू अर्यालको आतिथ्यमा चिया जलपान पनि भयो । केही प्रसँगका साहित्यिक गतिविधिका चर्चा पनि भए । कास्कीको पोखरामा लेक साइड–६, स्थित रोजम्यारी होटलमा साहित्यकार रिता न्यौपाने पहारीसँग मिठो न्यानो भलाकुसारी भयो । हाम्रो यस यात्री समूहलाई बिहानको खानाको आतिथ्य सत्कार पनि गर्नुभयो । साहित्यिक गतिविधिका अनुभवहरु साटासाट भए । हामीले लिई गएको कृतिहरुसँग हेमराज पहारी स्मृति ग्रत्थ, हेमराज पहारीका गीतहरुका पुस्तक आदानप्रदान पनि भयो । उक्त रोजम्यारी होटेलका प्रोपराइटर रिता न्यौपाने पहारी उक्त स्मृति प्रतिष्ठानको अध्यक्ष पनि हुनुहुन्छ । 

पाल्पाली समाज पोखराको पाल्पा हाउस न्यूरोड पोखरामा रहेको छ । पाल्पा भूमिमा जन्मथलो भई कास्की पोखरामा कर्मथलो बनाउनुभएका कर्मष्ठ उद्येमीको एउटा समूह हो यो पाल्पाली समाज । पाल्पा हाउस, पाल्पाली बहुउद्देशीय सहकारी संस्था, ट्रावल एजेन्सी आदि मुख्य उपलब्धी हुन् भने पाल्पालाई चिनाउन रानीमहल रेष्टुरेण्ट, उक्त रेष्टुरेण्टको भवन मोहडा पनि दुरुस्तै र भित्र दरबार, रानीमहलका भित्ते चित्रहरु, रहेकाछन् भने ढाका करुवाको पनि उत्पादन गरिएकाछन् त्यसैप्रकार पाल्पामा पाइने प्रमुख परिकार पनि माग बमोमि बनाइन्छन् । यसरी हेर्दा पाल्पाको चिनारी गर्ने कर्ममा मनले लागेको देखिन्छ  भने कर्मथलोको हिसाबले उत्पादन वितरण, सहकारी सञ्चालक हुनु पोखराबासीसँगको आर्थिक सहभागितासँग गाँसिनु महत्वपूर्ण पक्ष रहेकोछ । यस पाल्पाली समाजका कुल प्रसाद धिमिरे, वर्तमान अध्यक्ष पाल्पा हुमिन जन्मथलो भएका महेश्वर श्रेष्ठ, दामोदर सर आदिले पाल्पाली समाजको बारेमा प्रकाश पार्नुभयो । वहाहरुको भनाई थियो कि ¤ पाल्पासँग पोखरालाई अर्थपूर्ण हेतुले जोड्न पाल्पाली बहुउद्देशीय सहकारी संचालन गरेका छौं । हामीले ब्यावसाय गर्दा ब्यापार मात्र नभै आवश्यकतानुसार सेवा भावनाले पनि काम गर्ने गरेका छौं । जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठान, कविवर बाटुलेचौर पोखरामा हाम्रो समूहलाई बाजागाजा सहित भजन मण्डलीद्वारा स्वागत भयो । यस प्रतिष्ठानको अध्यक्ष प्रतिष्ठित लोक गायक धर्मराज थापाकै सुपुत्र मदनराज थापाले शि.स्वा.तथा सा.प्रतिष्ठान पाल्पाका अध्यक्ष पुष्कर राज रेग्मी अथकसँगको संयुक्त मञ्चबाट सिर्जना वाचन कार्यक्रम राख्नुभएको थियो । हाम्रो समूहलाई पुष्प गुच्छा र खादा पनि लगाइदिनु भएको थियो । उक्त प्र.दुर्गा थापाको सञ्चालनमा शुभारम्भ भएको सो कार्यक्रममा विशेष अतिथि पाल्पा साहित्य समाजका संरक्षण राजेन्द्र गोपाल सिंह र प्रा.डा. कुञ्ज राज थापा, शुक्ला साहित्य प्रतिस्थानका अध्यक्ष गोदार सर भजन समूहका संयोजक नेत्र बानियाँ आदि थुप्रैको सहभागिता थियो । जनकवि केशरी धर्मराज थापाले १४ अञ्चल भ्रमण गर्ने क्रममा पाल्पा पनि पुगेर धवल पुस्तकालयमा हस्ताक्षर गरेका प्रसँग, उहाँका बारेमा बोलिएका लेख रचनाहरुको पनि चर्चा भए । 

हामीले यहाँबाट लगेका कृतिसँग प्रधान सम्पादक मदनराज थापा भएको डाँफे चरी, प्रा.डा. कुञ्जराज थापाको झिसमिसेमा स्वयम्भू, साँघुः अनि नेत्र बहादुर बानियाँको त्रिवेणी समूह पुस्तक आदान प्रदान पनि भए । यस समारोहमा उपस्थित सबैले सिर्जना वाचनका साथै लोक भजन, धार्मिक भजनमा सामूहिक नृत्य पनि गरि वातावरण संगितमय भएको थियो । यसरी २ः३० घण्टा रमाइलो वातावरणमा साहित्यिक गतिविधिको चर्चा, अनुभव साटासाट, संयुक्त फोटो सेशन तथा पाल्पा र पोखरा बिचमा एउटा महत्वपूर्ण सम्बन्ध कायम भएको अनुभूत गर्दै त्यहाँबाट कास्कीको अर्को वातावरणीय आकर्षकको केन्द्र रहेको घान्द्रुक तर्फ प्रस्थान गरियो । हाम्रो यस साहित्यिक यात्रामा शि.स्वा.सा. प्रतिष्ठानको अध्यक्ष पुस्कर राज रेग्मी अथक को पहलमा सम्पदा प्रतिष्ठानका अध्यक्ष रामजी प्रसाद ढुंगाना, पाल्पा साहित्य समाजका पूर्ण अध्यक्ष तथा हालका संरक्षक राजेन्द्र गोपाल सिंह, विश्व साहित्य संजाल पाल्पाका सहसचिव आयाम कार्की, अनि आयोजक संस्थाका उपाध्यक्ष रोहितप्रसाद ज्ञवाली, कार्यसमिति सदस्य गम्भीर जंग रायमाझी अर्का सदस्य पत्रकार तथा परेवा पाक्षिक पत्रिकाका सम्पादक तथा व्यवस्थापक भोजराज भट्टराई एवं यस साहित्यिक भ्रमणमा भविस्यका लागि बाल सहभागिताको अपरिहार्यता महशुस गरेर अस्तित्व रेग्मी, रोहित गोपाल सिंह, आविस्कार भट्टराई, गृष्मा रायमाझीलाई पनि सहभागिता गराइएको थियो । यस साहित्यिक यात्रामा सुरक्षित भ्रमण र पुनः गन्तब्यमा पुर्याउने जिम्मा रिजर्भ सेवाका प्रो.शिव घर्ती मगर गुरुजीको रहेको थियो । यात्रा सफल भएकोमा सम्पूर्णलाई बधाई ।

 (लेखक शिक्षा, स्वास्थ्य, साहित्य प्रतिष्ठान नेपाल पाल्पाका उपाध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update