Shittalpati
आज उत्साह र एकताको पर्व माघे संक्रान्ति

पाल्पा, आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइँदैछ । उत्साह र एकताको पर्वको रुपमा हेरिने यो पर्व नेपालको प्रमुख चार्ड मध्ये एक हो । यो माघ महिनाको पहिलो दिन पर्दछ । यसलाई माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले पनि चिनिन्छ ।

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन यो पर्व मनाइन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) संक्रान्ति भनिन्छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । पाल्पामा बसोबास गर्दै आएका मगर समुदायले पनि आफ्नो महान चाड माघे संक्रान्ति धुमधामका साथ मनाउँदै छन् । माघे संक्रान्तिको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ । विभिन्न जातीय समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन् । आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोसिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ ।

यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलाद्र्ध तर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । माघे र मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्दछ ।

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । माघ संक्रान्तिमध्ये जाडोको रमाइलो पर्व पनि हो । यसदिन तेल लगाउने प्रचलन पनि छ । यो पर्व धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण रहेको छ । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ ।

 

 

 

मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे संक्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ । माघे संक्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पुजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । बालकहरू धनु बाँण खेल्दै माघे संक्रान्तिको रौनकता शुरू गर्छन् । माघे संक्रान्ति मेलाको अवसरमा रूरू क्षेत्र रिडीमा मेला लाग्ने गर्दछ ।  कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पूण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त रिडी नदीमा पुग्ने गर्दछन् ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update