Shittalpati
साहित्य प्रतिष्ठानको वार्षिक दिवस : प्रतिभा सम्मान र छात्रवृत्ति वितरण

पाल्पा, शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठान स्थापनाको १८ औं वार्षिक दिवस र ९५ औं कुलमणि देवकोटा जन्म जयन्ती मनाएको छ । प्रतिष्ठानले शनिबार तानसेनमा  प्रतिभा सम्मान पुरस्कार समर्पण एवं छात्रवृत्ति वितरण कार्यक्रम गरी वार्षिक दिवस र देवकोटा जन्म जयन्ती मनाएको हो ।

कार्यक्रममा शिक्षा, स्वास्थ्य र साहित्यको क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । प्रतिष्ठानले कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट साहित्यकार गंगानाथ कोइराला, लक्ष्मी प्रीय जगतबहादुर स्मृति पुरस्कारबाट साहित्यकार धर्मी शाक्य, जगत कुलमणि कविन्द्र त्रिनक्षेत्र पुरस्कारबाट कवयित्री नैना नेपाल ढकाल, विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट नानू हमाल, इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट देवेन्द्रमान शाक्य, शक्तिराज रेग्मी सञ्चार सेवा सम्मानबाट लक्ष्मण खड्का, राधा बद्री अम्बिका स्वयंसेवा सम्मानबाट सुशीलप्रसाद प्रधान,बालहरि स्मृति स्वास्थ्य सेवा सम्मानबाट शिखा पहारी , दीनानाना साहित्य सेवा सम्मानबाट धातानन्द शर्मा र  तुलठगी शैक्षिक प्रतिभा पुरस्कारबाट कामना रानालाई पुरस्कृत एवं सम्मान गरेको हो ।

यस्तै प्रतिष्ठानले विभिन्न विद्यार्थीहरुलाई छात्रवृति पजि वितरण गरेको छ । उसले  भैरव बहुमुखी क्याम्पस, तानसेन बहुमुखी क्याम्पस, त्रिभुवन बहुमुखी क्याम्पस, प. प.न.मा.वि., सेन मा.वि.र कालिका मा.विमा अध्ययनरत १३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । जसमा ७ जना विद्यार्थीले प्रतिष्ठानका संरक्षक डा. प्रकाश राज रेग्मीद्वारा स्थापित विमला कमल शैक्षिक छात्रवृत्ति, ५ जनाले ज्योति रेग्मी अधिकारीद्वारा स्थापित ज्ञानज्योति शैक्षिक छात्रवृत्ति र १ जनाले खुमानन्द÷मनोहर÷ रोहित ज्ञवालीद्वारा स्थापित माता दीनकुमारी छात्रवृत्ति प्राप्त गरेका छन् । छात्रवृत्ति रकम १० हजार, ३ हजार र २ हजार ५ सय रहेका छन् । अक्षयकोषदाता बाबुराम कार्कीबाट ५ हजार र त्रिलोचन पौड्यालबाट १० हजार अक्षयकोषमा थप, नैना नेपाल ढकालबाट  ५ हजार छात्रवृत्तिको लागि शालिकराम/शिखा पहारीबाट १० हजार प्रतिष्ठानलाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद समाजसेवी बुद्धिप्रसाद शर्माले सम्मानित र पुरस्कृत व्यक्तित्वहरुलाई प्रमाण पत्र र नगद प्रदान गरेका थिए । उनले पाल्पामा साहित्यको जागरण ल्याउन, स्वास्थ्य सचेतना जगाउनुका साथै शिक्षा क्षेत्रमा समेत अभिप्रेरणा प्रदान गर्ने कार्यमा  प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले स्वास्थ्यको क्षेत्रमा संरक्षक डा. प्रकाश राज रेग्मी र साहित्यको क्षेत्रमा संस्थापक अध्यक्ष पुष्कर अथक रेग्मीले गरेको योगदान स्मरणीय रहेको समेत धारणा व्यक्त गरे ।  

कार्यक्रममा विशिष्ट अतिथिद्वय  मिसन अस्पतालका निर्देशक डा. रचेल कारख र शिक्षाविद् छत्रराज शाक्य, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, शैक्षिक तथा सामाजिक व्यक्तित्व त्रिलोचन पौड्याल, कृष्णप्रसाद कोइराला, नैना नेपाल ढकाल, गंगानाथ कोइराला लगातले आफ्ना धारणा राखेका थिए । अध्यक्ष पुष्कर अथक रेग्मीले प्रतिष्ठानको इतिहासदेखि बर्तमानलाई समेटदै सहयोगी मनहरू सबैलाई धन्यवाद दिए । कार्यक्रममा महासचिव चन्द्रकान्त न्यौपानेले वार्षिक गतिविधि र सदस्य गम्भीरजंग रायमाझीले ७ लाख २९ हजार ८ सय ५१  बराबरको आयव्यय प्रस्तुत  गरेका थिए । प्रतिष्ठानका सदस्य भोजराज भट्टराईले पुरस्कृत एवं सम्मानित व्यक्तित्वहरूको बारेमा चर्चा गरेका थिए । अध्यक्ष रेग्मीको अध्यक्षता, उपाध्यक्ष रोहित प्रसाद ज्ञवालीको स्वागत, महासचिव चन्द्र कान्त न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update