Shittalpati
भगवती मन्दिरहरुमा पुजापाठ, भजन किर्तन गर्नेको भिड

पाल्पा, वडा दशैंको पहिलो दिन आइतबार पाल्पाका विभिन्न शक्ति पिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउँ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा दर्शनको लागि भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् ।

जिल्लाको डाँडा टाकुरामा रहेका भगवती दुर्गाका मन्दिरहरु सरसफाई गरी आइतबार नवरात्र देखी देवीको नित्य पुजा आजा शुरु गरिएको छ । पाल्पामा अधिकाश देवी, भगवती, दुर्गाका मन्दिरहरु, डाँडाको टुप्पोमा निर्माण गरिएका छन् । नवदुर्गा शुरु भएपछि भगवती मन्दिरका वरीपरी भक्तजनहरु भजन कृर्तन, दुर्गा तथा चण्डी पाठ गर्दै देवीको आराधना गर्न भक्तजन जुटेका हुन् । तानसेनको भगवती मन्दिरमा परम्परागत नेवारी भाषाको डाफा भजनले सबैको मन तानेको छ । लोपन्मुख अवस्थामा पुगेको नेवारी डाफा भजनलाई संरक्षणको बुढादेखि युवाहरुको सहभागिता रहेको छ ।

परम्परागत भजन संस्कृति बुढापाकामा मात्र रहेको अवस्थामा युवाहरुलाई समेत डाफा भजन स्तुतीमा सहभागी गराएर तानसेनको पुरानो भजन संस्कृतिको जर्गेनाका लागि सहयोग पुगेको संस्कृतिकर्मी राजेन्द्र गोपाल सिंहले बताए । भगवती मन्दिरमा तानसेन भजन संरक्षण समिति र भगवती भजन समुहले नियमित रुपमा नवरात्री भरी डाफा भजन गर्दै आएका छन् । तानसेनको भगवती मन्दिर, रम्भा पानीको रम्भादेवी मन्दिर, भुवनपोखरीको रैनादेवी मन्दिर, बतासेको कालिका मन्दिर लगायतका मन्दिरमा पुजा आजाका लागि भक्तजनको अध्याधिक भिड हुने गर्दछ ।  पाल्पामा नवदुर्गाको समयमा मन्दिर वरीपरी विभिन्न समुहबाट सामुहिक देवी स्तुती भजन किर्तन गर्ने परम्परा हालसम्म कायम रहेको पाइन्छ । नवदुर्गाको पहिलो दिन घर–घरमा घटस्थापना गरी देवीको पुजा पाठ गरी दसैँको लागि जौं र मकैका जमरा छरेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update