Shittalpati
उपनिर्वाचन : चितवनमा लामिछाने, तनहुँमा वाग्ले विजयी

पाल्पा, वैशाख १० गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा चितवन–२ र तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई उम्मेदवार विजयी भएका छन् । मंगलबार आएको अन्तिम मत परिणाम अनुसार चितवन –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, तनहुँ क्षेत्र नं १ मा डा. स्वर्णिम वाग्ले विजयी भएका हुन् ।
चितवनमा शानदार मतका साथ लामिछाने विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५४ हजार १ सय ७६ मत ल्याएर लामिछानेले विजयी भएका हुन् । लामिछानेले निकटतम् प्रतिद्वन्द्विभन्दा ४२ हजार ९ सय ६२ मतान्तर बनाएका छन् । लामिछानेको यो मतान्तर र मत मंसिर ४ को निर्वाचनभन्दा धेरै हो । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत ल्याएर दोस्रो भएका छन् । एमालेका रामप्रसाद न्यौपाने १० हजार ९ सय ३६ मतसहित तेस्रो बने । लामिछानेको अघिल्लो निर्वाचनमा ८४ हजार ३ सय १५ मतमा ४९ हजार ३ सय मत ल्याएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत प्राप्त गरेका थिए ।

यस्तै तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकै डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । उनले ३४ हजार नौं सय ११ मत प्राप्त गरे । उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरे । निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो । तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली काँग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update