Shittalpati
स्याङ्जाको कालीगण्डकीमा निःशुल्क स्वास्थ्य शिविर, ७ सयले लिए सेवा

स्याङ्जा,स्याङ्जाको कालीगण्डकी गाउँपालिका –७ मिर्मिमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको आयोजना, रोटरी क्लब अफ क्पापिटल बुटवलको सह–आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

शिविरमा ७ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । मुटु, मृगौला र सुगर जस्ता रोगहरुको ल्याव परीक्षण समेत गरिएको पालिकाले जनाएको छ ।
अस्पतालको पहुँच भन्दा बाहिर रहेकाहरुको लागि शिविर महत्वपूर्ण रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए । उनले गाउँपालिकासँग आफ्नो व्यक्तिगत र संस्थागत सम्बन्ध कायम भएको र यो मायालाई दिगोपना दिने बताए । रोटरी क्लबका प्रेसिडेन्ट अशोक कुँवरले समुदायसँग सम्बन्धित हरेक कार्यमा क्लबले स्थानीय सरकारसँग सधैं सहकार्य र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोईरालाले जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार भएकाले आम जनतामा त्यसको अनूभति प्रदान गर्ने गरी काम गर्दै आएको बताईन् । उनले नागरिक स्वस्थ भए मात्र स्थानीय सरकार समृद्धि हुुने भन्दै स्वस्थ नागरिक उत्पादनमा आफुुहरुले विशेष ध्यान दिएको बताईन् । विपन्न वर्गका नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य शिविरले ठूलो सहयोग पुुगेको ७ का वडाध्यक्ष उम प्रसाद भट्टराईले बताए । घर छेउमै उपचार गर्न पाउँदा विरामीहरु उत्साहित भएका थिए । सेवा लिन अन्यत्रै जानुुपर्ने बाध्यतामा रहेका यहाँका नागरिक घर ठाउँमै सेवा लिन पाउँदा खुसी देखिन्थे ।

शिविरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा प्रदान गरिएको थियो । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयले बताए । उनले नागरिकको स्वास्थ्य नै हाम्रो प्राथमिकता भएको भन्दै आगामी दिनमा पनि यस्ता शिविर सञ्चालन गर्दै जाने बताए ।

 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update