Shittalpati
अथकको अचार

दुर्गा अधिकारी ‘भमरकोटे’
शुभकामना
बालप्रिय सुसेली
फूलुनु नभमा ।१।
पढ पाठक
नामै राम्रो अथक
काव्य साधक ।२।
सुसेली तपाई हामीहरु माझबाट जन्म लिएको एउटा विधा हो । जब हामीहरुले ५+७+५ को त्रिपदीय नेपाली लोकलय तथा भाकामा नेपालीपनमा र्सिजना, वाचन तथा गायन गरिरहेका छौं भने यसलाई किन विदेशी नामबाट रचना वा वाचन गर्ने ? आफनै मौलिक, पौराणिक तथा एतिहासिक लोकलयमा आधारित आफ्नै नाम किन नदिने ? यिनै प्रश्नहरुको जवाफमा “सुसेली” को जन्म भएको हो । सुसेली विधामा अरु कुनै विधाको नियमहरु लागु हुँदैनन् । “सुसेली” को छोटो परिचय निम्न बमोजिम छ ।
नेपालको संस्कृतिक इतिहास धेरै पुरानो छ । हाम्रो पौराणिक ग्रन्थ वेदमा समेत त्रिपदी, त्रिष्टुप् लगायता धेरै छन्दहरुको वर्णन पाइन्छ । सुसेली यही ऐतिहासिक तथा पौराणिक त्रिपदी लोकलयमा आधारित ५+७+५=१७ अक्षरमा नेपाली लोकलयमा मनका भावना व्यक्त गर्न सकिने स्वतन्त्र लघुविधा हो । सुसेलीमा कुनै निश्चित भाव आउनुपर्छ भन्ने छैन । आफ्ना मनमा भएका जुनसुकै भावनाहरु सुसेलीको माध्यमबाट र्सिजना गरी व्यक्त गर्न सकिन्छ । सभ्य भाषा र निश्चित भावमा लेखिएको अर्थपूर्ण हुनुपर्दछ । सुसेली निम्न बमोजिम रचना गर्न सकिन्छ ।


१. पहिलो, दोश्रो र तेस्रो तीनै हरफमा अन्त्यानुप्रास मिलाएर । जस्तै :
छर्छ उजेली
वेदमन्त्र त्रिपदी
हाम्रो सुसेली ।
२. पहिलो र तेस्रो हरफमा अन्तयानुप्रास मिलाएर । जस्तै :
नमः शिवाय
ॐ नमो भगवते
वासुदेवाय
३. पहिलो र दोस्रो वा दोस्रो र तेस्रो हरफमा अन्त्यानुप्रास मिलाएर । जस्तैः
उडेछे जुरेली
वनपाखा पखेरी
गीत गाउँदै । १ ।
लेखौं सुसेली
सम्बोधन ऐजन
मेरो नमन । २ ।
४. अन्त्यानुप्रास नमिले पनि संरचनागत हिसाबले जुनसुकै नेपाली लोकलयमा गाउन मिल्ने बनाएर । जस्तै ः
मन्द बतास
सुसेलीमा गाउँदा
मन आनन्द ।
सुसेलीका प्रतिपादकको व्याख्या र नियमहरु सहितको पुस्तक “त्रिनेत्र” सुसेली संग्रह गतवर्ष प्रकाशनमा आइसकेको छ । सोही पुस्तकमा रहेका सिद्धान्त र व्याख्याका आधारमा १० वटा शिर्षकमा बाल सुसेलीहरु रचना गरी यो बाल सुसेली पुस्तक “अचार”मा साहित्यकार पृष्कर अथक रेग्मीकले सजाउनुभएको छ । प्रस्तृत सुसेलीहरुले बालबालिकालाई एक किसिमको नैतिक शिक्षा दिएको कुरा शिर्षकहरुबाटनै थाहा पाइन्छ । उहाँले आमा, बाबा, गुरु, स्कुल, फूटबल, भक्तिगान, गीत, कोरोना, साहित्य र सुसेली आदि शीर्षकहरु दिँदा आदर र सम्मानका कुराहरुले बाल मनस्पटलमा सकारात्मक प्रभाव पर्ने कुरा प्रष्ट देखिन्छ । उदारणका लागि तीन सुसेली हेरौं ।
आमा : आमा महान
भोक प्यास सहने
जागै रहने । ४
बाबा : टेवा भर्नेछु
बाजा म बाँचुञ्जेल
सेवा गर्नेछु ।
गुरु : गरौं पौरख
आकाश जलथल
गुरु गौरव ।
माथिका बाल सुसेलीहरु प्रतिनिधि उदारण मात्र हुन् । पुस्तक यस्तै अनुकरणीय र उदाहरणीय सुसेलीहरुले भरिएको छ । यो पुस्तकले शिक्षकशिक्षिका, बालबालिका, युवायुवती, वृद्धवृद्धा लगायत नेपाली लोकलयका गीत मन पराउने सबै किसिमका पाठकहरुलाई भरपुर सन्तृष्टि दिने कुरामा म विश्वस्त छु । पाल्पामा जन्मेर पाल्पाली माटोलाई मात्र नभई सि·ो नेपाल र नेपाली साहित्यलाई उर्वर साहित्यमय बनाउन लामो समय शिक्षण पेशामा संलग्न, मानव अधिकारकर्मी र नागरिक सचेतक समेत रहनु भएका पुष्कर अथक रेग्मी नेपाली साहित्यको श्रीबृद्धिका लागि निरन्तर समर्पित व्यक्तित्व हुनुहुन्छ । दर्जनभन्दा बढि विभिन्न विधाहरुमा कृतिहरु प्रकाशित गरिसक्नुभएका अथकका सिर्जनाहरुमा शोध, खोज, सोच र अठोटका नयाँनयाँ प्रयोगहरु पाइन्छन् । त्यसैले उहाँ अरुभन्दा फरक साहित्यकारका रुपमा प्रतिष्ठापित भइसक्नु भएको छ । यिनै स्तरीय सिर्जनाहरुमा उहाँको अथक नाम परिभाषित भएको छ ।

हालैमात्र अहिलेसम्मकै लघुतम दुईवटा विधाहरु “शीत” र “त्रिशुल” को प्रतिपादन गरेर अझै विशेष ख्याति कमाउन सफल हुनुभएका शीत प्रवर्तक अथकले सुसेली विधामा कलम चलाई बाल सुसेली “अचार” पुस्तक प्रकाशन गर्दा, सुसेलीको प्रवद्र्धन गर्ने अवसर पाएको यो भमरकोटेको मन हर्षले कति गदगद भएको होला । यो उहाँले सुसेली विधाका लागि लगाउनु भएको गुन सुसेली अभियानमा लागेका सबैका लागि अनुपम उपहार हो । अहिलेको समय साहित्यमा खिचातानि नभएर सद्भाव र सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन । हामी सबै मिलेर नेपाली भाषा र साहित्यको खोज, संरक्षण, सम्बदर््न र विकासमा लागि पर्न ढिला भइसकेको छ । ढिलै भएपनि हाल आएर केहि अनुकरणीय नयाँ विधिहरुको जन्म भएको छ । यी नव साहित्यि विधाहरुले नेपाली वाङ्ममयको श्री वृद्धिमा अवश्यपनि गहन भूमिका निर्वाह गर्नेछन् भन्ने कुरामा म विश्वस्त छु । अथकज्यूसँग काव्यिक सहयात्रा गर्ने अवसर केहि वर्षअघि मात्र मिलेको हो । तर उहाँको बौद्धिक क्षमताको कदर मैले पाँच वर्ष अगाडिको हामो पहिलो साहित्यक भेट देखि गर्न लागेको हुँ । उहाँको रचना तथा सिर्जनाहरु समाजका हरेक जनजीवनसँग मेल खाने खालका छन् । बालक, वृद्ध, युवक सबैलाई उहाँले साहित्यिक खुराक वर्षौं देखि पस्कदै आउनुभएको छ । म उहाँ तथा उहाँको साहित्यिक यात्राको सुस्वास्थ, दीर्घजीवन सहित उत्तरोत्तर उन्नति र प्रगतिको कामना गर्दै यो बालसुसेली “अचार” को अपार सफलताको कामना गर्दछु ।
ज्ञान छरौं है
बाल, वृद्ध, युवाले
पढ्ने गरौं है ।१।
धन्यवाद छ
“अचार” सुसेलीको
तीखो स्वाद छ ।२।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update