Shittalpati
आज राष्ट्रिय टोपी दिवस मनाइदैं

पाल्पा, राष्ट्रिय टोपी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पाल्पा सहित देशभर यो दिवस हर्सोउल्लासका साथ मनाउन लागिएको हो । केही युवाको अगुवाईमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउन सुरु गरेको थियो ।

सोही अनुरुपमा आज पाल्पामा पनि पाल्पाली युवाहरु तथा विभिन्न संघ–संस्थाको सक्रियतामा टोपी दिवस मनाउन लागिएको छ । हरेक वर्ष यहाँ एनबीआर पाल्पाको अगुवाइमा विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाको सहभागितामा नेपाली टोपी दिवस मनाइने गरिएको थियो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने गरेका छन् । सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली ढाका टोपी, भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित सरकारलाई दबाब दिँदै आएको छ । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।

दिवस मनाउन सुरू भएको आठौ वर्षमा आइपुग्दा नेपाली टोपी र नेपाली संस्कृतिप्रति युवापुस्ता केही सचेत भएको पाइन्छ ।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update