Shittalpati
कोरोना कहर :  पाल्पामा जात्रा, पर्व र विद्यालय सञ्चालन नगर्न आग्रह

रामचन्द्र रायमाझी

पाल्पा । जिल्लामा सरकारको आदेशको बर्खिलाप हुन थालेपछि जिल्ल्ला प्रशासन कार्यालयले कडा निर्देशन जारी गरेको छ । कोभिड–१९ को संक्रमण बढ्दो क्रममा रहेका बेला जिल्लामा सरकारको आदेशको पालना नगरी जथाभावी विद्यालय सञ्चालन गरेको, विना मास्क,स्यानिटाइजर घरबाहिर हिड्डुल गर्ने गरेको, अनावश्यक भिडभाड गरी सामाजिक दुरीको वेवास्त गर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै निर्देशन उल्लंघन गर्नेलाई कडा कारवाही गर्ने जनाएको छ । प्रशासनले सूचनाको उल्लंघन गर्ने गरेको पाइएमा त्यस्ता व्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम कडा कारवाही गर्ने भएको हो । जिल्लामा अहिलेसम्म मास्क नलगाई घरबाहिर हिड्ने एक सय भन्दा बढी कारवाहीमा परिसकेका छन् । 

संक्रमण बढ्दो क्रममा रहेकाले जिल्लामा कुनै पनि जात्रा,पर्व र विद्यालय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । लकडाउन खुकुलो भएसँगै जिल्लाम बाहिरबाट भित्रिनेको संख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । शुक्रबार सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेद्वारा हस्ताक्षरित सूचनामा स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने सर्तमा केही सेवा र कार्यहरु सञ्चालन गर्न खुला एंव सहजिकरण गरिएकोमा न्यूनतम सामाजिक दुरी कायम नगर्ने , विना मास्क र स्यानिटाइजर घर बाहिर हिड्डुल गर्ने अनावश्यक भिडभाड गर्ने, सेवा प्रदायक निकाय वा संस्थाले पनि स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्ने गराउनेतर्फ वेवास्त गर्ने, विद्यालयहरुमा कक्षा सञ्चालन गर्ने जस्ता गतिविधिहरु बढ्दै गएको सूचना प्राप्त भएकाले यस प्रकारका कार्यबाट कोभिड –१९ को संक्रमणको जोखिम बढ्दै जाने उल्लेख गरिएको छ । स्वास्थ्य मापदण्डको वेवास्त गर्दा कोरोना संक्रमणको अवस्था झन भयावह हुने भएकाले घर बाहिर निस्कनु पर्ने अवस्थामा अनिवार्य मासक लगाउनुपर्ने, स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नु गराउनुुको साथै जिल्ला भित्रसञ्चालन हुने मेला, जात्रा, उत्सव, तथा मन्दिरहरुमा गरिने नित्य पूजा बाहेकका पूजाहरु र विद्यालयमा कक्षा सञ्चालन गर्ने गराउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

स्थानीय स्तरमा सरकारी निर्देशनको अवज्ञा भए पछि कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । उनले भने ‘लकडाउन खुकुलो भएसँगै जनस्तरमा संक्रमण पनि हटेको होकि भन्ने महशुस भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाइएको हुन सक्छ तर संक्रमण समुदायस्तरसम्म पुगेको छ, पाल्पामा यतिबेला जात्रा र पर्वको समय पनि शुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो’, प्रजिअ न्यौपानेले भने, ’सुरुका दिनमा जिल्लावासीले नै लकडाउनको पूर्ण पालना गरी शान्त थियो, लकडाउन खुकुलो भएसँगै जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।’ उनले स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लंघन गर्नेलाई नियन्त्रण नगर्ने हो भने जिल्लाको अवस्था झन् जोखिम हुने बताए ।

कोभिड –१९ का कारण विगत लामो समयदेखि जिल्लामा सञ्चालन हुँदै आएका भगवती जात्रा, रोपाईँ जात्रा, चुईकी फिराई, अमर नारायण, गणेश, भिमसेन लगायतका कुनै पनि जात्रा महोत्सवहरु यस वर्ष नहुने भएका हुन् । यस अघि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुखहरु, तानसेन नगर सरकार, विश्व हिन्दू महासंघ, विभिन्न गुठीसंघ संस्थाहरु र सरोकारवालाको उपस्थितिमा भएको बैठकले कोरोनाको जोखिमका कारण जात्राहरु नगर्ने निर्णय गरेको थियो ।

तानसेन भित्र सञ्चालन हुने जात्रा तथा महोत्सवहरु सञ्चालनका सम्बन्धमा कोभिड १९ संक्रमणबाट जोगिन भौतिक दुरी कायम गर्नुपर्ने अवस्था र नेपाल सरकारले समेत कुनै पनि जात्रा महोत्सव, जमघट गर्न रोक लगाएका कारण तानसेनका सबै जात्रा,महोत्सवहरु नगर्ने निर्णय भएको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले बताए । उनले भने ‘समुदायमा समेत कोरोना संक्रमण फैली सकेकाले विशेष सावधानी अपनाउन आवश्यक छ ।’ जिल्ला प्रशासन कार्यालय, तानसेन नगरपालिकाको निर्यणअनुसार कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी यस वर्षको भगवती विजयजात्रा नहुने भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताए । भगवती जात्रामा मन्दिरभित्र हुने सबै पूजाआजा गर्ने, बलि चढाउने र मन्दिरवरिपरि मात्र रथयात्रा गर्ने गरी तयारी गरे पनि सर्वसाधारणको रथायात्रा नहुने उनले जानकारी दिए । अध्यक्ष उदयले भने‘ स्वास्थ्य नै सबथोक भएकाले वर्तमान विषम परिस्थतीमा उच्च सकर्तकता अपनाउनुको विकल्प छैन, स्वास्थ रहे जात्रा पर्व अर्को वर्ष पनि गर्न सकिन्छ ।’

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update