Shittalpati
रामपुरमा नगर सरकारको एक्सन, सडकमा राखिएका निर्माण सामग्री हटाउँदै

हाम्रा संवददाता
पाल्पा, रामपुरमा नगर सरकारले सडकमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरु हटाउन थालेको छ । यहाँ पटक–पटक सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन भने पनि नहटाइएपछि नगर सरकार आफैले डोजर, ट्रक र ट्याक्टर लगाएर हटाउन थालेको हो ।

नगर सरकारले बेझाँड बजारदेखि सडक मिचेर राखिएका निर्माण सामग्री हटाउन सुरु गरेको छ । जभावी रुपमा राखिएका निर्माण सामग्रीका कारण बजार अस्तव्यस्त हुनुको साथै दुर्घटना समेत निम्त्याउन थालेपछि नगर सरकारले यस्तो कदम चालेको हो । उसले ३५ दिने सूचना नै जारी गरी सडकमा राखिएका निर्माण सामग्री हटाउन आग्रह गर्दै आएको थियो । तर अहिलेसम्म पनि नहटाइएपछि नगर सरकार आफै उठाउन कसिएको हो । उसले सडक मिचेर लामो समयसम्म राखिएका निर्माण सामग्रीले सडक कुरुप बन्नुको साथै जोखिम बन्दै गएकाले निर्माण सामग्री जफत गरिएको जनाएको छ । नगरपालिकाको माथिल्लो गेट अगाडिबाट सामग्री हटाउन सुरु गरिएको थियो । सडक मिचेर राखिएका ढुङ्गा, गिट्टी, बालुवा, ईट्टा र माटो उठाइएको छ । अहिले बेझाँड बजार चोक, तल्लो चोक, हुलाकटोल, बाङ्गापसल रोड लगाएत विभिन्न स्थानबाट सामग्री उठाइए सकिएको छ ।
ईलाका प्रहरी कार्यालयको सहयोगमा नगर प्रहरी र कर्मचारीहरुको सहभागितामा नगरपालिकाले सामग्री उठाएको हो । नगरपालिकाले घर तथा भवन निर्माण सुरु भएका स्थानमा अनुमति लिएर मात्र निश्चित समयको लागि सामान राख्ने व्यवस्था गरेको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनले भने, ‘हामीले निर्माणका क्रममा सामग्री सडक छेउमा राख्नै नपाईने भनेको होईन । तर वैकल्पिक उपाय अपनाउन र नभए सडकमा सवारी आगमनमा अवरोध नहुने गरी अनुमति लिएर निश्चित समय व्यवस्थित रुपमा राख्न भनेका छौं । सूचना जारी गरे पनि सडकको स्वरुप नै बिग्रिने गरी राखिएका सामान हटाएका हौं ।’ थापाले बजार क्षेत्रमा हुन सक्ने दुर्घटना न्यूनिकरण र सडकलाई थप व्यवस्थित बनाउनका लागि अभियान थालिएको बताए । नगरपालिकाले बजारका साघुरा सडक, गल्ली ओगटेर सामान राख्नाले बजार गर्न पैदल हिड्नुपर्ने अवस्थामा दुर्घटनाको जोखिम समेत भएकाले तत्काल सामग्री आफ्नो सटर भित्र मात्र राख्न निर्देशन गरिएको थापाले बताए । नगरपालिकाको आग्रहलाई वेवास्ता गरेमा सामान जपत गरिने समेत उनले बताएका छन् । यस अघि नगरपालिकाले सूचना जारी गर्नुका साथै माइकिङ सहित यथाशिघ्र हटाउन अनुरोध गरेको थियो । तर कसैले पनि नहटाएपछि नगर सरकारले एक्सन लिनु परेको जनाएको छ । यहाँ पसल बाहिर सडक पेटी ओगटेर सामान बिक्री गर्दा बजार अस्तव्यस्त देखिने र दर्जनौ गाडी आउने जाने, यात्रु चढाउने झार्ने हुँदा जोखिम बढेको छ ।
नगर सरकारले अव्यवस्थित पार्किङ गरेका सवारी साधनलाई समेत कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । बसपार्कमा पार्किङ नगरी नगरको मुख्य बजार बेझाँड बजार क्षेत्रमा अव्यवस्थित रुपमा पार्किङ गर्ने सवारीसाधनलाई ट्राफिक नियम अनुसार तत्काल कारवाही गर्न प्रहरीलाई नगर सरकारले निर्देशन दिएको छ । अव्यवस्थित पार्किङले बजार क्षेत्रका सडक साँघुरो हुने र सडक दुर्घटना समेत हुन सक्ने भएकाले पार्किङलाई व्यवस्थित गर्न खोजिएको नगर प्रमुख थापाले बताए । उनले नगरपालिकाले तोकेको स्थानमा बाहेक अन्यत्र स्थानमा यात्रु ओराल्ने समय बाहेक अन्य समयमा सवारी साधन पार्किङ गरे सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिने बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update