Shittalpati
जिसस गुल्मीमा गठबन्धनको प्यानलै विजयी

गुल्मी, जिल्ला समन्वय समिति गुल्मीको निर्वाचनमा सत्ता गठबन्धनको प्यानल विजयी भएको छ । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय तम्घासमा भएको जिल्ला समन्वय समितिको निर्वाचनमा सत्ता गठबन्धनबाट समन्वय प्रमुखमा नेपाली काँग्रेसका द्रोणबहादुर खत्री १५ मतसहित विजयी भएका हुन् ।

खत्री स्थानीय तहको निर्वाचनमा चन्द्रकोट गाउँपालिका –३ बाट वडासदस्यमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका युवराज न्यौपानेले ९ भोट प्राप्त गरे । न्यौपाने स्थानीय तह निर्वाचनमा सत्यवती गाउँपालिका –६ बाट विजयी भएका थिए । उपप्रमुखमा सत्तागठबन्धनबाटै नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामी १५ भोट सहित विजयी भए । सलामी स्थानीय तहको निर्वाचनमा कालीगण्डकी गाउँपालिका –६ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेकपा एमालेकी रमादेवी पुनले ९ भोट प्राप्त गरिन् । पुन स्थानीय तह निर्वाचनमा चन्द्रकोट गाउँपालिका–५ बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

जिल्ला समन्वय समितिको सदस्यहरु पनि गठबन्धनदलकै उम्मेदवार विजयी भएका छन् । जसमा नेपाली काँग्रेसका महेश्वर भण्डारीले १४, शेरबहादुर विश्वकर्माले १५, सुनिता जिसिले १५, शेरबहादुर कुँवरले १५, वीरबहादुर कार्कीले १५, नेकपा एकीकृत समाजवादी पार्टीकी सावित्रा पाण्डे भण्डारीले १५ र राष्ट्रिय जनमोर्चाकी नरमाया रानाले १५ भोट प्राप्त गरी विजयी भए । जिल्ला समन्वय समितिको सदस्यमा नेकपा एमालेका उम्मेदवार पिताम्बर अर्यालले ९, कृष्ण प्रसाद भण्डारीले १०, ज्ञानप्रसाद श्रेष्ठले ९, सागर नेपालीले ९, ममता सुनार आत्रेयले ९, कल्पना अधिकारीले ९ र विमला पन्थीले ९ भोट प्राप्त गरेका थिए ।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update