Shittalpati
तानसेन नगर सरकारद्वारा पारिवारिक लगत परिचयपत्र वितरण

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको तानसेन नगर सरकारले क्यूआर कोर्ड सहितको पारिवारिक लगत परिचयपत्र वितरण थालेको छ । नगर सरकारले सूचना व्यवस्थापन प्रणाली अन्तर्गत पारिवारिक लगत परिचय पत्र वितरण थालेको हो । सोमबार एक औपचारिक कार्यक्रमका बिच नगर सरकारले उक्त परिचय पत्र वितरण अभियानको सुरुवात गरेको छ । तानसेन नगरपलिकाका प्रमुख अशोककुमार शाहीले तानसेन –६ की पूर्णमाया महर्जनलाई क्यूआर कोर्ड सहितको पारिवारिक लगत परिचयपत्र दिएर अभियानको सुरुवात गरेका हुन् । नगर सरकारले पहिलो दिन तानसेन ६ का १० जना नागरिकहरुलाई उक्त परिचय पत्र दिएको छ ।

परिचय पत्र वितरण गर्दै नगरप्रमुख शाहीले नगरपालिकाबाट प्रदान गरिने सेवा सुविधालाई व्यवस्थित र आधुनिकीकरण गर्न सूचना व्यवस्थापन प्रणाली अन्तर्गत नगरवासीलाई फेमली कार्ड वितरण थालिएको बताए । उनले यस्तो काम सूचना, समृद्धि र सुशासनसँग जोडिएको कुरा भएकाले चुनौती समेत रहेको धारणा व्यक्त गरे । उनले भने ‘चुनौती भएपनि सूचना र गोपनियताका विषयमा भने हामी सचेत छौं ।’ संविधानले व्यवस्था गरेको सूचनाको हक र व्यक्तिगत गोपनियताका विषयमा नगर सरकारले विशेष ध्यान दिएर काम गर्ने नगर प्रमुख शाहीले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेले नगरबाट प्रदान गर्दै आएका सेवा सुविधालाई थप पारदर्शी र सुशासन ढंगले सेवाग्राहीमा पुर्‍याउ फेमली कार्ड कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । नेपाली काँग्रेस तानसेन नगर सभापति सूर्वणमुनी शाक्यले नगरको आर्थिक स्रोत वृद्धिमा फेमली कार्ड वितरणले महत्वपूर्ण टेवा पुग्ने बताए । नेकपा एमाले तानसेन नगरका अध्यक्ष गुँरास अत्रेयले नगर सरकारको अभियान आफैमा राम्रो भएकाले पूर्णता र नियमित अपडेट गर्ने विषयमा ध्यान दिन नगर सरकारलाई आग्रह गरे । माओवादी केन्द्र तानसेन नगरका अध्यक्ष प्रतिक्षा सिंजालीले नगर सरकार र नागरिकको सम्बन्धलाई थप मजबूद बनाउन यसले टेवा पुग्ने बताइन् । नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले सूचना प्रविधिको प्रयोग गर्दै आफ्ना सेवा सुविधालाई नगर सरकारले जनताको घरदैलोमै पुर्‍याउन गरेको प्रयास प्रशंसनिय रहेको बताए । उनले नगरवासीकालाई एउटा नयाँ आयाम थपिएको समेत धारणा व्यक्त गरे । फेमली कार्ड भित्र पारिवारीक, व्यक्तिगत, जनसांख्यिक, शैक्षिक, आर्थिक जस्ता विवरणहरुको विषयमा जानकारी पाइने नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश गैरेले बताए । उनका अनुसार यस अन्तर्गत नगरभित्र भएका अस्पताल, विद्यालय, मठमन्दिर, सडक जस्ता कुराहरुको विषयमा जानकारी प्राप्त गर्न सकिन्छ । यसबाट आमनागरिकहरुले घरमै बसी कर तिर्न समेत सक्ने छन् । सबै वडाबाट डाटा संकलन गर्न गणकहरु खटाइएको र विवरण समेत आइसेको सूचना अधिकृत गैरेले बताए । उनका अनुसार डटा इन्ट्रिको काम ६० प्रतिशत सकिएको छ । नगरपालिकाका वरिष्ठ अधिकृत भरत आचार्यको सञ्चालनमा कार्ड वितरण शुभारम्भ कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update