Shittalpati
ग्रामीण सडकमा कालोपत्रे गर्दै तानसेन नगर सरकार

कृष्ण पोखरेल

पाल्पा, जिल्लाको तानसेन नगर सरकारले ग्रामीण सडकमा कालोपत्रे गर्न लागेको छ । शहर बजारमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहज यातायात सुविधा पुर्‍याउने उद्देश्यसहित नगर सरकारले ग्रामीण क्षेत्रका सडकहरुमा कालोपत्रे गर्ने कार्य शुरु गरेको हो । नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडाहरुमा कच्ची सडक निर्माणसंगै बाहै्र महिना सहज रुपमा यातायात सञ्चालनका लागि सडकमा कालोपत्रे गर्ने काम गरेको छ ।

तानसेन नगरपालिकाले जनप्रतिनिधी निर्वाचित भईसकेपछी करीव ३ किलोमिटर कच्ची सडक निर्माण गरेपछी, सडकलाई व्यस्थित, सुरक्षित बनाउन ग्रामीण सडकमा कालोपत्रे अभियान थालेको हो । तानसेन नगरपालिकाले गत बर्षदेखी एक वडा एक किलोमिटर पक्की सडक अभियान शुरु गरेको थियो । तानसेन नगरपालिकाका ग्रामीण क्षेत्र अन्तर्गत वडा– ५ सेतीपोखरी धरमपानी सम्मोबारी, बराङ्दी, वडा– ६ बर्तुङ क्षेत्र, वडा–७ काजिपौवा, प्रभास, वडा– ८ मदनपोखरा, वडा– ९ दमकडा, वडा – १० तेल्घा, वडा– ११ बन्दिपोखरा, वडा –१२ पोखराथोक, वडा –१३ बौघागुम्वा, छेर्लुङ र वडा– १४ अर्गली क्षेत्रका वासिन्दा यो अभियानबाट बढी लाभान्वित हुने छन् । तानसेनको वडा–१ मिसन, गैरागाउ वडा –२ मेहलधारा, अशनटोल र बडिज्ञान टोल, वडा– ३ टक्सार, बसन्तपुर र भगवतीटोल, वडा– ४ सिल्खान क्षेत्र बजारको मुख्य क्षेत्र भित्र पर्दछन् । नगरभित्रका ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई शहरी सुविधा प्रदान गर्न, विकासको समान पहुँच पुर्‍याउन, ग्रामीण भेगका कृषि, पशु उत्पादनहरु शहरसम्म पुर्‍याउन, पर्यटकहरुलाई गाउँ गाउँका होमस्टेमा पुर्‍यान, ग्रामीण भेगको आय आर्जन बढाउने अयिानाका साथ एक वडा एक किलोमिटर पक्की सडक अभियान शुरु गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताए । यो अभियानले भोलीका दिनमा पदमा आफु रहेपनि नरहेपनि सडक पूर्वाधारको स्थायी विकासको रुपमा अघि बढ्ने नगर प्रमुख शाहीले बताए । चालु आर्थिक बर्षमा तानसेन नगरपालिकाले १४ वडामा एक किलोमिटरका दरले १४ किलोमिटर सडक कालोपत्रेको शुरु गरेको छ । यो अभियानबाट कम्तीमा ७ बर्ष भित्र तानसेन नगरका १४ वटै वडाका प्रमुख सडकहरु कालोपत्रे भईसक्ने नगर प्रमुख शाहीले बताए । विकासको पूर्वाधार सडक नै भएकाले ग्रामीण क्षेत्रका पक्की सडकसंगै, अन्य विकासका कामहरु पनि अघि बढ्ने, बसाई सराई रोकिने, ग्रामीण क्षेत्रमै स–साना उद्योग कलकारखाना सञ्चालन आर्थिक चलायमान हुने विश्वास तानसेन नगरपालिकाले गरेको छ ।

एक वडा एक किलोमिटर पक्की सडक कार्यक्रमको नगर प्रमुख शाहीले वडा –१३ को बौघागुम्वामा शुभारम्भ गरेका छन् । वडा– १३ को बौघागुम्वामा केरवादी जाने चोकदेखी वडा भवन स्कूल हुँदै छेर्लुङ झर्ने विद्युत ट्रान्समिटरसम्म कालोपत्रे गरिने भएको छ । वडा –१२ पोखराथोकमा तिनकुने हुँदै मालुङ्गाडाँडासम्मको बाटो कालोपत्रे गरिने छ । दुबै स्थानका लागि सडक चौडा पार्ने, नाली बनाउने, पर्खाल लगाउने काम शुरु भएको छ । साढे ३ मिटरको दुई किलोमिटर सडकको लागि १ करोड २३ लाख रुपैयाँमा साईन कन्ट्रक्सन प्रा.लि. काठमाडौले काम गरेको निर्माण व्यवसायी चुरा बहादुर खत्रीले बताए । काम सक्ने सम्झौता अवधी २०७८ फागुन मसान्त भित्र सडक कालोपत्रे गरी हस्तान्तरण गरिने निर्माण व्यवसायी खत्रीले बताए ।

ग्रामीण क्षेत्रमा सडक पिचसंगै स्थानीयमा खुसियाली छाएको बौघागुम्वाका स्थानीय चेतबहादुर थापाले बताए । तानसेनबाट ९ किलोमिटर मै छेर्लुङको कालीगण्डकी करिडोरमा मिसिने सडक भएकाले भोलिका दिनमा तानसेनबाट रिडि जाने सबै भन्दा छोटो सडक हुने भएको, सडकको महत्व बढ्दै गएको स्थानीय जुद्धबहादुर थापाले बताए । एक वडा एक किलोमिटर सडक शुभारम्भ कार्यक्रममा वडा सदस्य कमला भण्डारीले यो कार्यक्रम तानसेन नगरको गौरवको योजना भएको बताईन । पत्रकार महासंघका पूर्व अध्यक्ष एवं तानसेन नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्टराईले एक वडा एक किलोमिटर सडक कार्यक्रमले तानसेन नगरको ग्रामिण भेगमा संमृद्धि ल्याउने बताए । वडा –१३ का वडा अध्यक्ष टुक प्रसाद भट्टराईले बतासेडाँडा देखी छेर्लुङसम्मको सडक आर्थिक रुपले महत्वपूर्ण रहेको, कालीगण्डकी करिडोरसँग जोडिएको र कालीगण्डकी लिफ्ट खानेपानीसँग जोडिएकाले नगरपालिकाले पहिलो प्राथमिकतामा राखी सबै सडक कालोपत्रे गर्नुपर्ने बताए । कार्यक्रम वडा सचिव सुमन गहतराजको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update