Shittalpati
पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ?

रामचन्द्र रायमाझी
पाल्पा,आर्थिक वर्षका २०७८/७९ का लागि पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोड ५३ लाख बजेट परेको छ । अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा यहाँका २२ वटै पालिकामा ८ अर्ब १६ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको हो ।

चालु आर्थिक वर्षको तुलनामा अहिले यहाँका दुई जिल्लाका लागि बजेट बढेर आएको छ । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ मा यि जिल्लाका लागि ७ अर्ब ६५ करोड ५९ लाखको बजेट विनियोजन गरेको थियो । पाल्पामा चालु आर्थिक वर्ष ३ अर्ब ६२ करोड ८२ लाखको बजेट छुट्याएको थियो भने गुल्मीका स्थानीय तहका लागि ४ अर्ब २ करोड ७७ लाख विनियोजन गरिएको थियो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पाको समग्र विकासका लागि आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ८१ करोड ७५ लाखको बजेट विनियोजन भएको छ । त्यस्तै गुल्मी जिल्लामा रहेका दुई नगरपालिका र दश गाउँपालिकाका लागि ४ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ विनियोजन भएको छ ।

पाल्पाका २ नगरपालिकालाई १ अर्ब ६ करोड १८ लाख र ८ गाउँपालिकाको लागि २ अर्ब ७५ करोड ५७ लाख विनियोजन भएको छ । नगरपालिकामा सबै भन्दा बढी तानसेन नगरपालिकामा ६१ करोड ५ लाख छ भने कम रामपुर नगरपालिकामा ४५ करोड १३ लाख छ । गाउँपालिकामा सबै भन्दा धेरै रैनादेवी छहरा गाउँपालिकालाई ४३ करोड ८३ लाख छ भने सबै भन्दा कम पूर्वखोला गाउँपालिकालाई २९ करोड ९४ लाख छ ।

तिनाउ गाउँपालिकालाई ३१ करोड १७ लाख ,निस्दी गाउँपालिकालाई ३५ करोड २ लाख, बगनासकाली गाउँपालिकालाई ३२ करोड २२ लाख, माथागढी गाउँपालिकालाई ३९ करोड ३ लाख,रम्भा गाउँपालिकालाई ३१ करोड ३ लाख,रिब्दीकोट गाउँपालिकालाई ३३ करोड ३३ लाख बजेट उपलब्ध भएको हो । पाल्पालाई विनियोजित रकम मध्ये समानीकरण अनुदानमा १ अर्ब ८ करोड २४ लाख र सशर्त अनुदान अन्र्तगत २ अर्ब ५८ करोड २६ लाख, समपूरक अनुदान ८ करोड ३२ लाख र विशेष अनुदान ६ करोड ९३ लाख रहेको अर्थ मन्त्रालयको वेवसाइटमा छ ।

यस्तै गुल्मीका दुई नगरपालिकालाई ८६ करोड ५८ लाख र १० गाउँपालिकाको लागि ३ अर्ब ४९ करोड २० लाख विनियोजन भएको छ । नगरपालिकामा सबैभन्दा धेरै मुसिकोट नगरपालिकामा ४७ करोड १८ लाख छ भने कम रेसुङ्गा नगरपालिकामा ३८ करोड ४० लाख छ । गाउँपालिकामा सबै भन्दा धेरै धुर्कोट गाउँपालिकालाई ३८ करोड ५२ लाख छ, भने सबै भन्दा कम इस्मा गाउँपालिकालाई २९ करोड ६८ लाख छ ।

कालिगण्डकी गाउँपालिकालाई ३२ करोड ८१ लाख,गुल्मी दरबार गाउँपालिकालाई ३३ करोड २९ लाख, चन्द्रकोट गाउँपालिकालाई ३३ करोड ४ लाख,छत्रकोट गाउँपालिकालाई ३६ करोड ९६ लाख, मदाने गाउँपालिकालाई ३५ करोड ३५ लाख, मालिका गाउँपालिकालाई ३७ करोड ११ लाख, रुरुक्षेत्र गाउँपालिकालाई ३६ करोड ५० लाख र सत्यवती गाउँपालिकालाई ३५ करोड ९४ लाख बजेट उपलब्ध भएको हो ।

वित्तीय समानीकरण अन्तर्गत प्राप्त बजेटबाट स्थानीय तहले परिषद्बाट योजना पारित गरी कार्यान्वयन गर्नुपर्छ भने सशर्त अनुदानअन्तर्गत प्राप्त बजेटले कर्मचारी र शिक्षकहरूको तलबभत्ता, सामाजिक सुरक्षाभत्ता र स्थानीय तहको प्रशासनिक खर्चमा कार्यान्वयन गर्नुपर्छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update