Shittalpati
पर्यटक लोभ्याउँन चिटिक्क पारिदै ‘श्रीनगर’

कृष्ण पोखरेल
पाल्पा, नेपालमा आकर्षक प्रतिफल दिने क्षेत्र पर्यटन व्यवसाय कोरोना (कोभिड–१९) ले सबैभन्दा बढी थिलोथिलो भएको छ । गत चैत ११ गतेदेखिको बन्दाबन्दी (लकडाउन) ले पर्यटनसँग सम्बद्ध होटल व्यवसाय, पैदल यात्रा, आरोहण, पर्वतीय खेलकुद लगायतका गतिविधि शून्यप्रायः भएकाले नेपालको अर्थ क्षेत्रमा ठूलो असर परेको छ । कोभिडले थिलोथिलो परेको पर्यटन क्षेत्रलाई पुर्नजीवन दिनका लागि स्थानीय, प्रदेश र संघीय सरकारहरुले केही योजनाहरु अगाडि बढाएका छन् । पाल्पाको तानसेन नगर सरकारले पनि कोरोनाका कारण सुनसान बनेका पर्यटकीय क्षेत्रहरुमा चहलपहल बढाउन विशेष योजनाका साथ अगाडि बढेको छ । नगर सरकारले लामो समयसम्म सुनसान रहेको तानसेनको पर्यटकीय स्थल श्रीनगरमा नयाँ वर्षको अवसरमा पर्यटकहरुलाई लोभ्याउँने गरी काम गरेको छ ।


नयाँ बर्ष २०७८ मा आउने पर्यटकहरुलाई श्रीनगरमा लोभ्याउँनका लागि तानसेन सरकारले श्रीनगरलाई सरसफाई गरी चिटिक्क बनाउदै छ । नगर सरकारको यो अभियानलाई नगरका टोल विकास संस्था, पाल्पा व्यापार संघ, सामुदायिक वन उपभोक्ता समितिले समेत सघाएका छन् । गत बर्ष कोरोना संक्रमणको क्रासको कारण लकडाउन भएपछी सुनसान बनेकाले श्रीनगरमा नयाँ बर्ष २०७८ लाई लक्षित गरी वनभोज स्थल सरसफाई, सवारी पार्किङ्ग स्थलको व्यबस्थापना, भएका शौचालयहरुको सरसफाई, पिउने पानीको व्यवस्थापन, पर्यटकहरुको जमघट क्षेत्रको सरसफाई, प्लाष्टिक तथा फोहोरजन्य वस्तुको सरसफाई गरिएको तानसेन नगरपालिका नगर प्रमुख अशोक कुमार शाहीले बताए । १५ दिनसम्म तानसेन नगरपालिकाका सरसफाई शाखाका सम्पूर्ण जनशक्ति तथा ट्याक्टर, डोजर, लोडर, दमकल प्रयोग गरेर श्रीनगरलाई चिटिक्क बनाउदै लगिएको प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डेले बताए । कोरोनाका कारण एक बर्ष देखी पर्यटकीय गतिविधी शुन्य रहेकाले पर्यटकीय क्षेत्र श्रीनगरमा फोहोर थुप्रिएको, व्यवस्थापन तथा सरसफाई नभएको, पानी तथा विद्युत लथालिङ्ग भएको थियो ।श्रीनगरमा पर्यटकहरुलाई लक्षित गरी बतासेडाँडाको मुख्य पानी टंकीबाट ग्राविटी फ्लोमा २४ सै घण्टा खानेपानीको व्यबस्था गरिएको छ । यहाँ अस्तव्यस्त बनेको विद्युतलाई मर्मत गरी सबै क्षेत्रका विद्युत सेवा प्रदान गरिएको, पर्यटकहरुलाई स्वागतका लागि श्रीनगरको सबै क्षेत्रमा पूर्णरुपमा सरसफाई गरिएको तानसेन नगरका सरसफाई शाखा प्रमुख शंकर भण्डारीले बताए । बनभोज क्षेत्र, बुद्ध क्षेत्र पारिलेक, हनुमान क्षेत्र, भ्यु टावर क्षेत्र, तथा अवलोकन क्षेत्रहरुमा पूर्णरुपमा सरसफाई गरिएको, पैदलमार्ग सफा गरिएको पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।


तानसेन नगरपालिका र लुम्विनी प्रदेश सरकारको संयुक्त रुपमा श्रीनगर पर्यटकीय स्थललाई व्यस्थित बनाईने नगर प्रमुख अशोक कुमार शाहीले बताए । श्रीनगर क्षेत्रमा भ्यु टावरसंगै नेपालकै सबैभन्दा ठूलो बाहिरी क्षेत्रबाट समेत देखिने विग बुद्ध निर्माणको लागि तानसेन नगरपालिकाले डिपिआर बनाएको र सोका लागि श्रोत जुटाउने काम भईरहेको नगर प्रमुख शाहीले बताए । तानसेनको श्रीनगरलाई नेपाल सरकारले नेपालको एक सय पर्यटकीय गन्तव्यको सूचीमा समेत राखेको छ । नयाँ बर्ष मनाउन प्रत्येक बर्ष बैशाख १ गते श्रीनगर क्षेत्रमा पचाँस हजार देखी सत्तरी हजारसम्म आन्तरिक पर्यटकहरु पुग्ने गर्द छन् ।
२०७८ सालको नयाँ बर्षलाई लक्षित गरेर तानसेन नगरपालिकाले श्रीनगर क्षेत्र सफा सुन्दर बनाई चिटिक्क बनाएको हो ।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update