Shittalpati
सार्वजनिक सुनुवाइमा गाउँपालिकावासीका गुनासै गुनासा

रमेश विश्वकर्मा
गुल्मी, ‘मोटरबाटो खन्दा मकै नै पुरियो, केही टुक्रा आफ्नो भागमा परेको बारीमा मकै छरेको थिए, तर बाटो खन्ने क्रममा माटोले पुरिएर सबै सखाप भयो । विकासको नाममा जथाभावी बाटो खनेर गरिखाने किसानलाई दुःख भयो’ गुल्मीदरबार गाउँपालिका २ का चेत बहादुर थापाले गुनासो राख्दै भने ‘विकासका नाममा विनास नित्याउने काम गरिनुहुन्न । मैले पटक–पटक बारी नजिकैबाट बाटो नखन्न वडा कार्यालयलाई आग्रह गरें तर वडा कार्यालयले त्यसको सुनुवाई नगर्दा अहिले बारीमा लगाएका सबै मकै सखाप भए ।’ गाउँपालिकामा किसानका लागि प्रसस्त मल विउविजन आउँछन् तर टाठाबाठाले मात्र पाउँछन् हामीलाई भने थाहा नै दिइन्न थापाले गुनासो गरे । गुल्मीदरबार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्ना गुनासो राख्दै थापाले गाउँपालिकाले प्रवाह गर्ने सेवा जनतामुखी हुनुपर्ने बताए । गुल्मीदरवार गाउँपालिका ६ का बद्री अर्यालले खानेपानी वितरणमा विभेद भएको गुनासो गरे । उनले भने,‘वडामा आएको खानेपानी योजना नेताका आसेपासेलाई मात्र भयो हामीलाई दिइएन ।’ वडामा वितरण गरिएका योजनाहरु न्यायोचित भएन, गाउँपालिकाले वितरण गर्ने अनुदानका कार्यक्रमहरुमा समेत विभेद हुने गरेको छ, ‘वितरणका क्रममा वडावासीलाई सूचना प्रवाह गरिदैन’ अर्यालले भने । वडा नं ३ कै भक्त पौडेलले सार्वजनिक खर्च न्यायोचित नभएको गुनासो गरे ।

उनले सार्वजनिक खर्च अन्तर्गत जिन्सी सामग्री खरिद गर्दा स्टिकर नै नराखिएको बताए । ‘कृषि सामग्री खरिद गर्दा ब्यक्तिले खरिद गर्ने भन्दा गाउँपालिकाले खरिद गरेको महङ्गो हुने गरेको छ’ पौडेलले भने । भुपु आर्मी समेत रहेका स्थानीय लक्ष्मण अर्यालले सार्वजनिक संरचना संरक्षणमा गाउँपालिकाले ध्यान दिनुपर्ने बताए । उनले घुम्तिमा भुतपुर्व सैनिकले निर्माण गरेको स्वागतद्वार गएको बर्खायाममा भत्किएकाले गाउँपालिकाले यस विषयमा सोच्नुपर्नेमा जोड दिए । स्थानीय शेर बहादुर कार्कीले स्वास्थ्य बिमा कार्यक्रमले आफुहरुलाई सास्ती भएको बताए । ‘स्थानीय स्वास्थ्य चौकीबाट रिफर लिएर जानु पर्ने र त्यसमा पनि अन्यत्र अस्पतालमा नगई सुबिधा नै नभएको जिल्ला अस्पतालमा जानुपर्ने बाध्यता छ’ कार्कीले भने । उनले आफुले रोजेकै अस्पतालमा जान पाउनुपर्ने व्यवस्था मिलाइदिन गाउँपालिकालाई आग्रह गरे । कार्यक्रममा गाउँपालिकावासीहरुले बाटोको धुलो , कृषिका समस्या, आगोलागी समस्या, अटोको मनपरी भाँडादर लगायतका विषयमा गुनासो गरेका थिए । गाउँपालिकाको सभाहल गौडाकोटमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकावासीको गुनासो सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष मिना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे,सबै वडाका वडा अध्यक्षहरुले जनताको चासोसँग जवाफदेहीतालाई विकास गरिने बताए ।

उनीहरुले समयमा बजेट नआउँदा अनुदानका कार्यक्रमहरुमा सबैलाई समेट्न नसकिएको स्वीकार गरे । कार्यक्रममा ६ का वडा अध्यक्ष हिरा बहादुर खत्रीले समयमा बजेट नआउदा सबैलाई एकै पटक वितरण गर्न नसकिएको भन्दै छिट्टै समस्या समाधान हुने आश्वासन दिएका छन् । स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले स्वास्थ्य बिमाले धेरैलाई सास्ती भएकाले स्वास्थ बिमा बोर्डलाई आफुहरुले समयमै ध्यानाकर्षण गराउने बताए । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरे, महासंघका नि वर्तमान अध्यक्ष नवराज भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update