Shittalpati
गुल्मीदरबार गाउँपालिकाको दोश्रो चौमासिक समिक्षा

रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको गुल्मीदरबार गाउँपालिकाले दोश्रो चौमासिक समिक्षा गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा दोस्रो चौमासिकमा गरेका कार्यहरूको एक कार्यक्रमका बिच समिक्षा गरेको हो ।

कार्यक्रममा दोस्रो चौमासिकमा गरेका कार्यको बारेमा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी गराए थिए । उनले ४०.४१ प्रतिशत चालू तर्फको बजेट खर्च, २१.४० प्रतिशत पुजिगत बजेट खर्च भैसकेको बताए । गत बर्षभन्दा यो बर्ष बजेट समयमै खर्च हुने भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले भनाई छ । गाउँपालिकाद्वारा कार्यसम्पादन सम्झौता गरेको, सम्झौता बमोजिम काम भएको वा नभएको मूल्यांकन, मासिक इ–बुलेटिन प्रकाशन गर्ने नेपालकै पहिलो स्थानीय तह बनेको, गाउँपालिकाको लोगो सार्वजनिक, सूचनाको हकको प्रत्याभूत गराउन सूचनाको हकको प्रकाशन , भूमी बैंक स्थापना, नागरिक सहायता कक्ष स्थापना, नागरिक सहायता पुस्तिका निर्माण, शाखा प्रमुखलाई स्थायी फोन नम्बरको ब्यवस्था, सबैतर्फ विद्युतिय हाजिरी, सेवा प्रवाहमा नागरिकको सजिलोका लागि पावर ब्याकअपको ब्यवस्था,अनलाइन राजस्व संकलनका लागि आगामी बैशाख २ गते देखि सञ्चालन हुनेगरी सफ्टवेयरको ब्यवस्था गरिएको बताइएको छ । त्यस्तै स्वास्थको क्षेत्रमा गाउँपालिकाले कस्तो छ आमा ? कार्यक्रम सञ्चालन गरेको, कृषिको क्षेत्रमा कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन, उपभोक्ताको सजिलोको लागि वडामै पुगेर समिती सँग सम्झौता गर्ने कामको थालनी गरिएको र उपभोक्ता समितिको सजिलोको लागि योजना सम्बन्धी खाका र कागजात सम्मीलित पुस्तिका वितरण गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत पाण्डेले घुम्ती शिबिर मार्फत अपांग परिचयपत्र वितरण गरिएको बताए । उनले गाउपालिकाले यहि चौमासिक देखि सञ्चारकर्मीलाई सूचना लिन सजिलोका लागि सामाजिक सञ्जालमार्फत आवश्यक सूचना दिने कामको थालनी गरेको समेत बताए ।


प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख टंक पन्थी सामाजिक बिकास शाखा प्रमुख नवराज घिमिरे, स्वास्थ्य शाखा प्रमुख नारायण अर्याल लगायत सबै शाखा प्रमुख र सबै वडाका सचिवहरुले शाखागत कार्य प्रगती प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य कृष्ण प्रसाद खनालले गुल्मीदरबार गाउँपालिकाले अहिले सम्म गरेका काम प्रशंसनिय रहेको बताए । नेपाली काँग्रेस गुल्मीदरबार गाउँपालिकाका सचिब राम बहादुर थापाले गाउँपालिकाले गरेका कामले स्थानीयहरु खुसी रहेको बताए । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य मनिराम ज्ञवालिले गाउँपालिकाले कुमाल जातिको उत्थानका निम्ति अझै धेरै काम गर्नुपर्ने सुझाव दिए । नेपाल पत्रकार महासंघ गुल्मीका निवर्तमान अध्यक्ष नवराज भुसालले आजकाल गुल्मीदरबार गाउँपालिकाको नाम देशैभर सुनिन लागेको भन्दै कामको प्रसंशा गरे । स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालको स्वागतमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update