Shittalpati
बगनासकाली बन्यो पाल्पामै पहिलो फुसको छानारहित गाउँपालिका

कृष्ण पोखरेल

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका खरका छानाहरु विस्थापित गर्दै फुसको छाना रहित गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका सबैको घर जस्तापाताले छाएसँगै पाल्पामै पहिलो फुसको छानारहित गाउँपालिका घोषणा भएको हो ।

पालिकाभरीका फुसको छानो भएका सबै घरमा अहिले कर्कटपाताले छाइएको छ । सबै घर कर्कटपाताले छाइएपछि गाउँपालिकाले बुधबार एक औपचारिक कार्यक्रमका साथ फुसको छानोरहित गाउँपालिका घोषणा गरेको छ । पालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले पालिकालाई पाल्पाकै पहिलो फुसरहित गाउँपालिका घोषणा गरेका छन् । गाउँपालिकाले पालिकाभरी खरको छाना भएका घरहरुमा कर्कटपातामय बनाएको छ । पालिकाले आर्थिक बर्ष २०७४ देखी २०७६ सम्म तीन चरणमा बजेट विनियोजन गरी गाउँपालिकालाई नै खरको छानामुक्त गाउँपालिका घोषणा गरेको हो । पालिकाले २ सय ५२ घरपरिवारलाई ७ सय ५६ बण्डल कर्कटपाता सहयोग गरेको छ ।

पालिकाले वडा नंं १ चिरतुङ्गधारामा १४ घरधुरीको लागि ४२ बण्डल, वडा नंं २ पोखराथोकमा ३७ घरपरिवारका लागि १ सय ११ वण्डल, वडा नंं ३ नायरमा ५ घरपरिवारको लागि १५ बण्डल, वडा नंं ४ खानीछापमा १८ घरपरिवारका लागि ५४ वण्डल, वडा नंं ५ दर्लामडाडामा ८ घरपरिवारका लागि २४ वण्डल, वडा नंं ६ यम्घामा १ सय ५ घरपरिवारका लागि ३ सय १५ बण्डल, वडा नंं ७ खानीगाउँमा ४३ घर परिवारका लागि १२९ बण्डल, वडा नंं ८ बराङ्दीमा १९ घरपरिवाका लागि ५७ बण्डल र वडा नंं ९ चापपानीमा ३ परिवारका लागि ९ बण्डल कर्कटपाता सहयोग गरेको पालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । निर्वाचनको समयमै जनतासँग गरेको प्रतिवद्धता अनुसार खरको छाना मुक्त अभियान अन्र्तगत पालिकालाई खरको छानामुक्त गरिएको अध्यक्ष बस्यालले बताए । पालिकाले आर्थिक बर्ष २०७४ मा १५ लाख रुपैयाँमा ५५ घरपरिवारमा, आर्थिक बर्ष २०७५ मा १५ लाख रुपैयामा ८३ घरपरिवार र आर्थिक बर्ष २०७६ मा ३९ लाख रुपैयाँमा १ सय १४ घरपरिवारमा कर्कटपाता वितरण गरेको हो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले कर्कटपाता सहयोग गरेका घरपरिवारको लागि आर्थिक उपार्जन गर्न कृषि र पशु कार्यक्रममार्फत आयश्रोत जुटाउने गरी पालिकाले व्यबस्थापन गरेको बताईन् । यो अभियानले आयश्रोत कम भएका व्यक्तिहरुलाई ठूलो सहयोग पुगेको उपाध्यक्ष चिदीको भनाई छ । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीले पालिकाले सहयोग गरेको कर्कटपाता सदुपयोग भए नभएको घर–घरमा अनुगमन गरेर मात्र फुसरहित गाउँपालिका घोषणा गरिएको बताए । पालिकाले शुरु गरेको गौरवको आयोजना कर्मचारीतहबाट पूर्णरुपमा कार्यान्वयन गरी सफल बनाएको प्रमुख प्रशासकिय अधिकृत शुरेस घिमिरेले बताए । आगामी दिनमा पनि जनप्रतिनिधीले बनाएका योजनाहरु कर्मचारीतहबाट पूर्णरुपमा कार्यान्वयन गरी जनताको सेवामा खटिने प्रमुख प्रशासकिय अधिकृत घिमिरेले बताए । सोही अवसरमा बगनासकाली आवाजको त्रैमासिक बुलेटिन समेत विमोचन गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य संयोजक मणिराम अधिकारी, पत्रकार महासंघका सह सचिव कृष्ण कार्की, बगनासकाली पत्रकार समूहका सचिव विष्णु घिमिरे लगायतले बगनासकाली गाउँपालिकाले फुसरहित पालिका घोषणा गरेर राम्रो काम गरेकाले गरिव निमुखा आय आर्जन कम भएका व्यक्तिहरुलाई समेत आय आर्जनसँग पनि जोड्नु पर्ने बताए । पालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालको सभापतित्व ,बगनासकाली आवाजका सम्पादक भोजराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update