Shittalpati
गुल्मी भुर्तुङ्गका युवाहरु आर्थिक, सामाजिक विकासका लागि एकजुट हुँदै

जगदीश भट्टराई
बुटवल, जन्मभूमि प्रतिको माया कसलाई लाग्दैन र ? माया मात्रै होइन, सुदुर गुल्मी कालीगण्डकी गाउँपालिका ७ भुर्तङ्गमा जन्मिएका युवाहरुले रुपन्देहीबाट सहकार्य गर्दै नयाँ सोंचको विकासका लागि नौलो अभियान शुरु गरेका छन् । गाउँ र शहरलाई व्यवसायिक हिसावले एक अर्काबीच नजोड्दासम्म आर्थिक, सामाजिक विकास नहुने सोंचका साथ गुल्मी भुर्तङ्गका उद्यमशील युवाहरु व्यवसायिक सहकार्यको भावनाले अगाडि बढेका हुन् । कालीगण्डकी गाउँपालिका ७ भुर्तुङ्ग र छापचौरबाट विभिन्न पेशा र व्यवसायका लागि रुपन्देही झरेका युवा व्यवसायीहरु व्यवसायिक क्षमताको विकासमा जुटेका छन् । उनीहरुले गाउँका कृषकहरुको उत्पादनलाई बजारीकरण गर्न सहज हुने सोंचलाई प्रदेशव्यापी बनाएर लैजाने कार्ययोजनाका साथ अगाडि बढ्ने निधो गरेका हुन् ।

यहाँका युवाहरुको यो अभियानलाई स्थानीय सरकार पनि सहयोग गर्न तयार रहेको गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले बताए । उनले शीप, श्रम र व्यवसायिकताको विकासका लागि यो समूहले खेल्ने भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरे । विभिन्न पेशा व्यवसायमा संलग्न दुई सय युवाहरुको सो समूहले सिद्धकालीका सहकार्य सस्ंथामार्फत सिद्धकालीका मल्टी प्रपोज प्रालि गठन गरेर आफ्नो काम थालनी गरेकोमा अध्यक्ष थापाले खुसी व्यक्त गरेका छन् । जन्मभूमि प्रतिको मायाले गर्दा गाउँको समग्र विकासका साथै आर्थिक सम्वृद्धिका लागि एकतावद्ध रुपमा अगाडि बढेकोमा स्थानीय सरकारले हरेक लगानीका सम्भावनालाई स्वीकार गर्ने प्रतिवद्धता समेत अध्यक्ष थापाले व्यक्त गरे । अध्यक्ष थापाले भने ‘औद्योगिक विकास भएका ठूला शहरहरुको अनूभव र गाउँका बेरोजगार युवाहरुको होस अनि जोसका साथै स्थानीय सरकारको सहयोगलाई समन्वयात्मक रुपमा अगाडि बढाउँन सकियो भने मात्र आर्थिक सम्वृद्धि हुन्छ, भन्ने मान्यतालाई अगाडि बढाउँनु आजको आवश्यकता हो । सहकार्य रहेको सरोकार केन्द्र र सो समूहले जल, जमिन र शिक्षा तथा पर्यटनका क्षेत्रमा लगानी गरेर त्यहाँका युवाहरुलाई स्वरोजगारी सिर्जना गर्ने अभियान रहेको संस्थाका सचिव सागर केसीले जानकारी दिए ।

युवाहरुले रुपन्देहीबाट सहकार्य गर्ने काम शुरु गरेको र सो कार्यले कृषि उत्पादन, पशुपालन र पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने देखेपछि गाउँ कार्यपालिका सहकार्य गर्न तयार भएको कालीगण्डकी गाउँपालिकाकी उपप्रमुख तारा थापाले बताईन । थापाले भनिन्,‘महिला शसक्तिकरणका साथै आर्थिक विकास र सम्वृद्धिसँगै गाँसिने कार्यमा भुर्तुङ्ग युवाहरुले थालेको काम गाउँ, जिल्ला हुँदै देश व्यापी रुपमा विकास हुनुपर्छ ।’ उत्पादनका साथै बजारीकरण गर्ने शीप र कला नभए सम्म किसानले मेहनत अनुसारको फल पाउँन नसक्ने भएको हुँदा यस्ता व्यावसायिक संस्थाहरुले दक्ष जनशक्ति उत्पादनका क्षेत्र समेत ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

गाउँको उत्पादनलाई बुटवलको बजारसम्म ल्याउँन र त्यसको बजारीकरण गर्ने कामलाई सहयोग पुगोस भन्ने उद्देश्यले सिद्धकालिका सहकार्य सिद्धकालिका मल्टिप्रपोज प्रालिमार्फत कालीगण्डकी गाउँपालिकालाई लक्षित गरेर व्यवसाय तथा विगभिन्न विकासका आयोजना सञ्चालन गर्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष सन्तोष पौडेलले बताए । उनले भने ‘हामी त्यहाँका युवाहरुलाई स्वरोजगार उन्मूख बनाउँन र उत्पादनलाई व्यवस्थित बजारीकरण गर्नका लागि यो अभियान थालेका छौं, यसलाई देश व्यापी रुपमा विकास गर्छौ ।’ नेपाली काँग्रेस गुल्मी क्षेत्र १ का क्षेत्रिय सहसचिव पूण्य सुवेदी, कालीगण्डकी ७ का वडाअध्यक्ष लोकप्रताप शाह, भिजन लुम्बिनीका कूलबहादुर केसी, भुर्तुङ्ग तराई समाजका अध्यक्ष राजकुमार केसी, संस्थाका उपाध्यक्ष फटिक थापा, अर्का उपाध्यक्ष कूलबहादुर कार्की, होटल व्यवसायी तथा जनमोर्चाका केन्दीय प्रतिनिधी रामबहादुर क्षेत्री, लगायतका व्यक्तित्वहरुले यो समूहको काम प्रसंसनीय भएको बताएका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update