Shittalpati
पर्यटकीय स्थलहरुको प्रचार –प्रसार गर्नु सबैको दायित्व हो : सभापति श्रेष्ठ

रमेश विश्वकर्मा
गुल्मी, नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले ऐतिहासिक पर्यटकीय स्थलहरुको उजागर गर्नु सबैको दायित्व रहेको बताएका छन् । उनले ऐतिहासिक पर्यटकीय स्थलहरुको उजागर गर्नका लागि प्रचारप्रसार गर्नुपर्ने बताएका हुन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सारमा सञ्चालन भैरहेको प्रथम गुल्मी मुसिकोट महोत्सवको आठौं दिनको कार्यक्रममा बोल्दै सभापति श्रेष्ठले सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरुलाई महोत्सवको माध्यमबाट अगाडि बढाउन प्रयत्न गरेकोमा गुल्मी मुसिकोट उद्योग वाणिज्य संघ र स्थानीय प्रति खुसी व्यक्त गरे । उनले यसरी पर्यटन प्रवद्र्धधनको काममा सबै एकजुट भएर लागेमा मुसिकोट एउटा आन्तरिक र वाह्य पर्यटकको गन्तव्य स्थल बन्न सक्नेमा जोड दिए । त्यस्तै नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा सबै मिलि यहाँका महत्वपूर्ण ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरुको देश विदेशमा प्रचारप्रसार गर्न उनले आग्रह गरे ।

महोत्सवले यहाँका महत्वपूर्ण स्थानहरुको प्रचारप्रसारमा ठूलो भुमिका खेलेको आफुले विश्वास लिएको बताउँदै सभापति श्रेष्ठले भने ,‘पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र व्यापारलाई प्रवद्र्धन गर्नका लागि महोत्सवले ठूलो भूमिका खेलेको छ ।’ महोत्सव सदरमुकाममा मात्र नभई गाउँगाउँमा गर्दा त्यहाँका पर्यटकिय तथा धार्मिक स्थलको प्रचारप्रसार हुने उनले बताए । मुसिकोट नगरपालिकाले महोत्सव सञ्चालनका निम्ति १० लाख सहयोग गरेको भन्दै नगरपालिकालाई पनि सभापति श्रेष्ठले धन्यवाद दिए ।

कफीको प्रवद्र्धनमा जोड
सभापति श्रेष्ठले नेपालमै कफीको उद्यगम स्थल जिल्लाको आँपचौर हो तर राम्रोसँग कफीको बजार प्रवद्र्धन गर्न नसकिएकोमा चिन्ता व्यक्त गरे । उनले कफीको बजार प्रवद्र्धन गर्नुपर्ने कुरामा जोड दिए । सभापति श्रेष्ठले भने ‘विश्वबजारमा कफीको माग अत्यन्तै बढ्दै गएको छ । तर कफीको प्रवद्र्धनमा जिल्ला निकै पछाडी परेको छ, नेपालमा उत्पादन गरिएका वस्तुहरुलाई अझै पनि राम्रोसँग देश विदेशमा पु¥याउन सकिएको छैन, दिनप्रतिदिन उत्पादन घट्दै गएको छ, आयात बढेको छ, निर्यात घटेको छ, त्यसमा सबैले ध्यान दिनु जरुरी छ ।’

 

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update