Shittalpati
चार जना कर्मचारीको भरमा गाउँपालिका

कृष्ण पोखरेल
पाल्पा, सिंहदरबारको अधिकार गाउँ–गाउँ भन्दै स्थानीय तहलाई अधिकार दिइएको छ । स्थानीय सरकारको रुपमा गठन भएको गाउँपालिकामा थुप्रै अधिकार दिइए पनि त्यसलाई कार्यान्वय गर्न कर्मचारीको भूमिका महत्वपूर्ण रहन्छ । तर आवश्यक कर्मचारी नै नहुँदा स्थानीय तहको काम कारवाही कस्तो रहला सहजै अनुमान गर्न सकिन्छ । कम कर्मचारी हुँदा योजनाहरुको सम्झौता, फरफारकदेखि सेवाग्रीका काम हुनै सक्दैनन् । यस्तै भएको छ, जिल्लाको माथागढी गाउँपालिकामा पनि । जहाँ ३५ जना कर्मचारीको दरवन्दी रहेपनि चार जनाको भरमा गाउँपालिका सञ्चालन हुँदै आएको छ । गाउँपालिकामा पर्याप्त कर्मचारी नहुँदा गाउँपालिकाको काम कारवाही अस्तव्यस्त भएको छ । आर्थिक वर्षको मध्य भागमा योजनाहरुको सम्झौता तथा फरफारकका सम्पूर्ण काम रोकिएका छन् ।

उपभोक्ताहरु गाउँपालिकामा धाउदा धाउदा हैरान भएका छन् । गाउँपालिकाको लागि ३५ जनाको दरवन्दी रहेपनि ४ जना कर्मचारीले मात्र गाउँपालिका धानेका छन् । पुष महिनादेखि गाउँपालिकाको आर्थिक कारोवार ठप्प रहेको छ । लेखा शाखामा अधिकृत सहित ४ जनाको दरवन्दी छ, तर एक जना पनि कर्मचारी छैनन् । शिक्षा शाखा, कृषि शाखा पशु शाखामा कुनै कर्मचारी छैनन् । प्रशासन फाँटमा अधिकृत २ जना, पाँचौ तहका ७ जना, चौथो तहका ५ जना गरी १४ जनाको दरवन्दी खाली छ । प्राविधिक तर्फ इन्जिनियर १ जना, सवईन्जिनियर पाँचौ ४ जना, सहायक सवईन्जिनियर चौथो ६ जना गरी ११ जनाको दरवन्दी खाली रहेको छ । गाउँपालिकामा सबै किसिमका कर्मचारी नहुँदा दिनहु हुने काम काज समेत रोकिएको छ । ८ वटा वडामा ८ वटा सचिव हुनुपर्नेमा एक जना सचिव मात्र कार्यरत छन् ।

७ जना सचिवको दरवन्दी खाली रहेको छ । प्रशासनमा रहेका एक जना खरिदार समेत संघमा संमायोजन भएकाले रमाना लिने तयारीमा छन् । लेखा, प्रशासन शिक्षा, पशु कृषि, जस्ता शाखामा कर्मचारी नहुँदा गाउँपालिकाको काम ठप्प रहेको प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताए । कर्मचारी संमायोजनको समयमा दरवन्दी अनुसारको आवश्यक कर्मचारीको विवरण प्रदेश सरकार, संघीय सरकारलाई पठाएका थियौ, संघीय सरकारबाट लोक सेवा आयोगलाई विज्ञापनको लागि दर्ता नंं ८८ बाट विवरण पठाएपनि लोकसेवा आयोगबाट विज्ञापन नभएको गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापा मगरले बताए ।

कर्मचारी नहुँदा गाउँपालिकाका सबै किसिमका काम रोकिएको छ, । कर्मचारीका लागि सदरमुकाम तानसेनदेखि काठमाडौ संघीय मन्त्रालय, महालेखा परीक्षकको कार्यालयमा धाउदा समेत कर्मचारीको व्यबस्थापन नभएको अध्यक्ष थापाले गुनासो गरे । गाउँपालिकाले यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी व्यवस्थापन विभागमा कर्मचारीको लागि तीन पटकसम्म लिखित पत्राचार गरेपनि कुनै पनि सुनुवाई भएको छैन । गाउँपालिकाले २०७६ कार्तिक १५ गते, २०७६ पुस ९ गते र २०७६ माघ १० गते लिखित रुपमा पत्राचार गरेपनी सामान्य प्रशासन मन्त्रालयले हाल सम्म कुनै पनि कर्मचारी नपठाउँ कामकाजमा समस्या भएको छ । करारमा कर्मचारी राखन्ने अधिकार स्थानीय तहलाई नहुँदा पनि समस्या सिर्जना भएको गाउँपालिका अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update