Shittalpati
जनप्रतिनिधि र कर्मचारीका लागि सञ्चालित कार्यशाला सकियो

पाल्पा, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सञ्चालन गरिएको कार्यक्रम, योजना निर्माण र कार्यान्वयन सम्बन्धी दुुई दिने कार्यशाला सकिएको छ । मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रको आयोजनामा तानसेनमा सञ्चालित कार्यशाला आइतबार सकिएको हो । केन्द्रले पाल्पाका स्थानीय सरकारलाई कार्यक्रम, योजना निर्माण र कार्यान्वयनमा प्रभावकारी बनाउने उद्देश्यले शनिबारदेखि योजना र कार्यक्रम निर्माणमा प्रत्यक्ष संलग्न रहने जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्याशाला सञ्चालन गरेको थियो ।

कार्यशालामा जिल्लाका १० वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, योजना अधिकृतहरुको सहभागीता रहेको थियो । उनीहरुलाई लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव रामप्रसाद पाण्डे, उपसचिव भविश्वर घिमिरे, पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डे लगायतले योजना निर्माण, योजना तर्जुमाका चरण, बजेट निर्माण, सुशासन, अुगमन,वित्तिय संघीय र व्यवस्थापन लगायतका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव रामप्रसाद पाण्डेले स्थानीय, प्रदेश र संघीय सरकारबिच विकास निर्माण र योजनाका विषयमा समन्वय आवश्यक रहेको बताए । उनले सहकारिता, सहअस्तित्व र समन्वयका साथ तीनै तहका सरकारले काम गर्न सकेमा योजना, कार्यक्रमहरु प्रभावकारी बन्नेमा जोड दिए । सचिव पाण्डेले आमनागरिकलाई केन्द्रमा राखेर योजना तर्जुमाका मापदण्डहरुलाई आत्मसाथ गर्दै योजना तथा कार्यक्रम बनाउनुपर्ने बताए ।

लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता भीमार्जुन पाण्डेले पूूर्वधार विकास अन्तरनिहित सवाल, दिगोपनामा स्थानीय तहको भूमिकाका विषयमा प्रष्ट पारेका थिए । उनले दक्ष जनशक्ति स्वदेशमै रोक्ने खालका कार्यक्रम र योजना ल्याउने विषयमा स्थानीय सरकारले समेत ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने,‘पछिल्लो समय ठूलो जशक्ति विदेश पलायन भएको छ, यो अवस्थालाई रोक्न सकिएन भने देशमा विकराल समस्या आउन्छ । त्यसतर्फ तीनै तहका सरकारको ध्यान जानुुपर्छ ।’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले सार्वजनिक, जवाफदेहीता र यसका औजारका विषयमा जानकारी गराएका थिए । उनले स्थानीय सरकार जनताप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिए । दुई दिनको कार्यशालाले जनप्रतिनिधि र कर्मचारीलाई योजना तर्जुमा र कार्यक्रम निर्माणमा थप टेवा पुग्नेमा केन्द्रका अध्यक्ष कृष्ण पोखरेले विश्वास व्यक्त गरे । उनले हिजोका दिनमा जसरी योजना र कार्यक्रम बनाए पनि त्यसलाई थप परिस्कृत गरेर अगाडि बढ्न कार्यशालाले मार्गदर्शन गर्नेमा जोड दिए । केन्द्रका कार्यक्रम संयोजक किरण कौसलले कार्यशालामा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update